हाल चलचित्र ‘पर्व’ को छायाँकनमा व्यस्त नायिका नम्रता श्रेष्ठ गाडी दुर्घटनामा परेकी छिन् । काठमाडौंको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह-निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो । दुर्घटनामा नायिका श्रेष्ठको हातमा चोट लागेको छ भने सुरेश न्यौपानेको खुट्टामा चोट लागेको चलचित्रका निर्देशक दिनेश राउतले जानकारी दिए । नम्रता र सुरेश न्यौपाने चढेको भ्यानलाई बा.१. झ १७७५ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो । चलचित्रकी मुख्य पात्र नम्रताको हातमा चोट लागेपछि निर्माणपक्षले आइतबारको छायाँकन रोकेको छ । चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति यो दुर्घटना भएको हो ।
यसै बर्षको चैत २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको केही दिन अगाडी मात्र ‘काले दाई’ बोलको गीत सार्वजनिक गरिएको थियो । प्रदर्शन मिति नजिकदै गर्दा अहिले निर्माणपक्षलाई सुटिङ सक्न चटारो परेको छ ।
टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, अमितेश शाह, प्रीया रिजाल, श्रीयन्स तिमिल्सिना यसको मुख्य भूमिकामा छन् । सुवास गिरी र निकिता पौडेलको यसमा लगानी छ । कोशिश क्षेत्रीको कथा, किरण माइकलको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी यो चलचित्रमा रहनेछ ।