दर्जन बढी चलचित्रहरु हात थिए, दर्शकहरु एकपछि अर्को गर्दै नायक विराज भट्टका एक्शन चलचित्रहरु हेर्न चाहिरहेका थिए तर विराज एक्कासी कता हराए-हराए । झण्डै ५ बर्षसम्म नेपाली चलचित्रमा नदेखिएपछि नायक विराज भट्ट हेर्न लालाहित भएका दर्शकहरु पनि न्यास्रिए । विराजले आजभन्दा ६ बर्ष अगाडी अभिनय गरेको अन्तिम चलचित्र थियो ‘मृगतृष्णा’ । त्यसपछि उनका नयाँ चलचित्रहरु दर्शकहरुले हेर्न पाएनन् । दर्शकहरुले गएको ५ बर्षमा एक्शन नायक विराज भट्टलाई बारम्बार खोजिरहे तर उनी एकपछि अर्को गर्दै भोजपुरी चलचित्रमा नै व्यस्त रहे । उनलाई त्यो समय धेरैले पैसाका लागि भोजपुरी चलचित्र रोजेको समेत आरोप लगाए तर ५ बर्षपछि फेरी फर्किए नेपाली चलचित्रमा विराज । उनको ५ बर्षपछिको कमब्याक चलचित्र हो ‘जय परशुराम’ । यो चलचित्र यसै बर्ष प्रदर्शनमा आएको थियो । चलचित्रले औसत व्यापार गरेपनि धेरैले विराजको कमब्याक सफल रहेको माने । विराजले चलचित्र ‘जय परशुराम’ को छायाँकन सुरु हुनु भन्दा अगाडी र चलचित्रको प्रमोशनको क्रममा बारम्बार भनिरहेका थिए, ‘अब नेपाली चलचित्रलाई पनि समय दिन्छु’ । तर, चलचित्र ‘जय परशुराम’ पश्चात विराज अहिले फेरी भोजपुरी चलचित्रमा नै व्यस्त छन् । चलचित्र ‘जय परशुराम’ हलबाट उत्रिएको केही महिना नेपाल रहेर पुनः भोजपुरी चलचित्रमा फर्किएका विराजले के फेरी नेपाली चलचित्रमा काम गर्लान त ? अहिले यो बहसले नेपाली सिने बजार राम्रै तातेको छ ।
एक समय नायक निखिल उप्रेतीका कडा प्रतिस्पर्धी मानिने विराजले रोज राणाको चलचित्र ‘जय परशुराम’ मा काम गर्नुभन्दा अगाडी भनेका थिए, ‘दुइटा भोजपुरी चलचित्रको सुटिङ गर्न बाँकी छ र अन्य तीनवटा चलचित्र साइन गरिसकेको छु ।’ यदी विराजले नेपाली चलचित्रमा काम गरे भने अब यी पाँचवटा भोजपुरी चलचित्र सकाएपछि मात्र समय दिन सक्नेछन् । ‘जय परशुराम’ पछि नेपालमा रहँदा विराजलाई दर्जन बढी नेपाली सिनेमाबाट अफर आएका थिए तर हालसम्म उनले कुनै पनि नेपाली चलचित्र साइन नगरिसकेको खबर छ ।
दर्शकहरु भने चलचित्र ‘जय परशुराम’ पछि पनि नेपाली सिनेमामा विराज भट्ट खोजी रहेका छन् । अब यो त समयले नै देखाउँला कि विराज भट्ट फेरी नेपाल फर्किएर नेपाली सिनेमामा आफ्नो एक्शन अवतार देखाउँलान वा नदेखाउँलान् ।