शुक्रबार प्रदर्शनमा आउने परम्परा तोड्दै बलीउडका दुई सुपरस्टार शाहरुख खानको ‘रईस’ र ऋतिक रोशनको ‘काबिल’ ले आजबाट प्रदर्शन आरम्भ गरेका छन् । नेपालको गोपीकृष्ण मुभिजले यी दुवै चलचित्रलाई ४ करोड ४० लाख तिर्दै नेपाल भित्राइएको हो । गोपीकृष्ण मुभिजका फिल्म वितरण प्रमुख निरज पौडेलका अनुसार, शाहरुख खानको ‘रईस’ लाई २ करोड ४० लाख तिरिएको छ भने ऋतिक रोशनको ‘काबिल’ लाई २ करोड । बलीउडका समिक्षकहरुबाट उत्कृष्ट प्रतिक्रिया मिलेको दुवै चलचित्रले नेपालमा पनि गज्जबकै पैसा छाप्नेमा गोपीकृष्ण मुभिज विश्वस्त देखिएको छ । नेपालमा ऋतिक र शाहरुख खानका फ्यानहरु उल्लेख्य रहेका कारण सोमबार देखी नै नेपालका मल्टिप्लेक्सहरुमा ‘काबिल’ र ‘रईस’ को बुकिङ प्याक भइसकेको छ । बलीउडस्टार शाहरुख खानले २३ जनवरीमा नेपालका निशान खतिवडालाई सम्बोधन गर्दै ट्विटरमा ‘धन्यवाद नेपाल’ समेत लेखेका थिए । शाहरुखको यो प्रेमलाई नेपालका दर्शकहरुले कतिको पत्याएर ‘रईस’ हेर्न हलसम्म पुग्लान् त्यो भने हेर्न बाँकी नै छ । तर, बलीउडका अर्का सुपरस्टार ऋतिक रोशन अभिनित चलचित्र ‘काबिल’ पनि एकसाथ प्रदर्शनमा आएका कारण ‘रईस’ को व्यापारमा गिरावट आउनेमा दुई मत छैन । एक्शन क्राइम थ्रिलर चलचित्र ‘रईस’ मा शाहरुख खान, माहिरा खान, नवाजुद्दीन सिद्दीकी, मोहम्मद जीशान अयूब लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई राहुल ढोलकियाले निर्देशन गरेका हुन । त्यस्तै ऋतिक रोशन र यामी गौतमको मुख्य भूमिका रहेको ‘काबिल’ लाई सञ्जय गुप्ताले निर्देशन गरेका हुन ।
यस्तै गएको हप्ता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा नआएको नेपाली हल यो हप्ता पनि सुनसान देखिने भएको छ । शाहरुख खानको ‘रईस’ र ऋतिक रोशनको ‘काबिल’ सँग प्रतिस्पर्धा गर्न यो हप्ता कुनै पनि नेपाली निर्माताहरु तम्सिएका छैनन् । यी दुई चलचित्रसँग नेपाली चलचित्र प्रदर्शनमा नआउनुको कारण एउटै छ, त्यो हो आफ्नो चलचित्र चेपुवामा पर्छ भन्ने डर छ निर्माताहरुलाई । हुनत, यो पहिलो पटक भने पक्कै होइन यसभन्दा अगाडी सलमान खान, आमिर खानका चलचित्रहरु प्रदर्शनमा आउँदा पनि नेपाली निर्माताहरु आफ्नो चलचित्र प्रदर्शन गर्नु परे कुना पस्थे । कारण, बलीउडका सुपरस्टारका चलचित्र प्रदर्शनमा आउँदा नेपाली चलचित्र एक दिन पनि हलमा टिक्न नसकेका उदारहणहरु प्रशस्तै छन् । यसैले त यो हप्ता पनि नेपाली निर्माताहरुले नेपाली हल शाहरुख र ऋतिकलाई नै जिम्मा लगाएका छन् । प्रत्येक हप्ता दुई भन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आउने नेपाली हल दुई हप्ता देखी भने नेपाली चलचित्र विहिन बनेको छ । यसले गर्दा पनि बलीउडका दुई चलचित्र ‘रईस’ र ‘काबिल’ लाई राम्रै चौका मिलेको छ ।गोपीकृष्ण मुभिजले ‘रईस’ र ‘काबिल’ लाई मल्टिप्लेक्स र सिंगलमा बराबर हल उपलब्ध गराएको छ । प्राप्त जानकारी अनुसार, नेपालका मल्टिप्लेक्सहरुमा शाहरुख खानको ‘रईस’ को बुकिङ उच्च छ ।