चलचित्र निर्देशनमा आफुलाई अब्बल निर्देशकको रुपमा उभ्याएका निश्चल बस्नेत ठूलो पर्दाका परिचित अनुहार हुन । निर्देशनसँगै अभिनयका पनि सौखिन निश्चलले दर्जन बढी नेपाली चलचित्रमा अभिनय समेत गरेका छन् । चलचित्र ‘कबड्डी’ मा त निश्चलले मुख्य भूमिका नै निर्वाह गरेका थिए । योसँगै उनले ‘झुम्की’, ‘लभ साशा’ लगायतका चलचित्रमा केमियो पनि गरेका छन् । तर, ‘कबड्डी’ पश्चात निश्चलले अन्य चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छैनन् । उनले आफु निर्देशित चलचित्र ‘लुट २’ को ‘ठमेल बजार’ बोलको आइटम गीतमा मोडल एलिसा राईसँग ठुम्का लगाएका छन् भने हाल छायाँकनरत चलचित्र ‘पर्व’ को ‘काले दाई’ बोलको गीतमा माला लिम्बुसँग कम्मर कर्माएका छन् । अब भने दर्शकहरुले निश्चललाई एक चलचित्रमा मुख्य भूमिका निर्वाह गरेको देख्न पाउने भएका छन् । फागुन २० गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ रुपैयाँ’ मा निश्चल मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । नायिका छनौट नभइसकेको यो चलचित्रमा निश्चलका अलवा अशिफ शाह, वुद्धि तामाङ, राजन इसान, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई असिम शाहले निर्देशन गर्दैछन् । पूर्ण कमेडी कथामा बन्ने यो चलचित्रका लागि अझै केही कलाकारहरु छनौट गर्न बाँकी रहेको निर्देशक शाहले जानकारी दिए । ब्ल्याक हर्स र जी ट्वान्टी वनको संयुक्त प्रोडक्शनमा यो चलचित्र बन्नेछ ।