निर्देशक सुदर्शन थापाले गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘प्रेम गीत’ को शिर्ष गीतबाट सापटी लिँदै ‘म यस्तो गीत गाउँछु’ निर्माण गर्दैछन् । चलचित्र ‘प्रेम गीत’ लाई सुदर्शन आफैंले निर्देशन गरेका थिए । ‘प्रेम गीत’ चलचित्रकी नायिका पूजा शर्मा र ‘नाइँ नभन्नू ल ४’ का नायक पल शाहको मुख्य भूमिका रहने यो चलचित्रको छायाँकन यहि महिनाबाट सुरु हुने निर्देशक थापाले जानकारी दिए । हाल चलचित्र ‘म यस्तो गीत गाउँछु’ खिच्ने क्यामेराले ‘पर्व’ चलचित्र खिचिरहेको कारण फ्लोरमा जान ढिलाई भएको बताइएको छ । यस्तै, नायक पल शाहले पनि आफ्नो दोस्रो चलचित्र ‘जोनी जेन्टलम्यान’ को छायाँकन आजबाट सकाएका कारण केही दिन वर्कशपमा समय विताएर चलचित्र ‘म यस्तो गीत गाउँछु’ को छायाँकन सुरु हुनेछ । यो चलचित्र पूर्ण रुपमा प्रेम कथामा तयार हुँदैछ ।
यो चलचित्रमा निर्देशक थापाको मात्र लगानी रहने बताइएको थियो तर हालैमा बाहिरिएको खबर अनुसार अब नायिका पूजा शर्मा पनि यही चलचित्रबाट निर्मात्री बन्दैछिन् । निर्देशक थापा र नायिका शर्माको लगानी चलचित्रमा बराबरी रहनेछ ।
यसैविच, चलचित्रका लागि रेकडिङ गरिएका ९ गीतमध्ये जम्मा ३ वटामात्र गीत चलचित्र भित्र समावेश गरिने भएको छ । निर्देशक थापाले दिएको जानकारी अनुसार, ९ मध्ये ७ वटा गीतको त मिक्सिङ नै भैसकेको थियो । उनका अनुसार, सुगम पोखरेल, अर्जुन पोखरेल, प्रमोद खरेल र अन्जु पन्तको आवाजमा समावेश ३ वटा गीत चलचित्रमा समावेश गरिनेछ । बाँकी गीतलाई के गर्ने भन्ने निर्णय नभैसकेको उनले बताए । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।