‘नाइँ नभन्नू ल ४’ बाट ठूलो पर्दामा इन्ट्री मारेका चकलेटी नायक पल शाह म्यूजिक भिडियाका महानायक हुन भन्दा गलत नहोला । अहिले पनि उनी अभिनित म्यूजिक भिडियोहरु दैनिक जसो नै युटयुवमा सार्वजनिक हुने गर्छन । ३ सय भन्दा बढी म्यूजिक भिडियोमा काम गरेर गज्जबकै फ्यान फलोइङ कमाएका पल अहिले नेपाली चलचित्र क्षेत्रका आशलाग्दा अनुहार हुन् । तर, दर्शकहरुले चलचित्र ‘नाईँ नभन्नू ल ४’ पछि उनलाई ठूलो पर्दामा हेर्न पाएका छैनन् । पाउन पनि कसरी झण्डै ५ महिना देखी त पल एउटै चलचित्रका लागि दिलोज्यान दिएर लागिपरेका छन् । त्यो चलचित्र हो, ‘जोनी जेन्टलम्यान’ । निर्माण घोषणा गरिएको ५ महिनापछि आज बिहिबारबाट यो चलचित्रको इन्डकल्याप भएको छ । अचम्म नमान्नुहोस्, ५ महिनासम्म ‘जोनी जेन्टलम्यान’ को छायाँकन भएको होइन । कहिले वर्कशप त कहिले चलचित्रमा समाबेश ५ गीत खिच्नका लागि भारतको गोवा, सिलगुढी लगायतको स्थानमा पुगेका कारण ‘जोनी जेन्टलम्यान’ तयार हुन ५ महिना लागेको निर्माण पक्षको दाबी छ । बिहिबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै निर्माणपक्षले ‘जोनी जेन्टलम्यान’ को छायाँकन सकिएको घोषणा गरेको हो । चलचित्रको इन्डकल्याप कार्यक्रममा बोल्दै नायक पल शाहले ‘जोनी जेन्टलम्यान’ आफ्नो ड्रीम प्रोजेक्ट रहेको बताए । छायाँकन सकिन केही समय बढी लागेपनि ‘जोनी जेन्टलम्यान’ राम्रो चलचित्र बनेको बताउँदै उनले बजारमा चलिरहेको नायिका आँचल शर्मा र आफ्नो प्रेम हल्लाको विषयमा पनि मुख खोल्न भ्याए । उनले भने, ‘मिडियाहरुमा आँचल र म प्रेम सम्बन्धमा रहेको हल्ला खुबै चलिरहेको छ । हुनत यस्ता खबरहरु आउनु एउटा कलाकारका लागि सामान्य हो । तर वास्तविक रुपमा भन्ने हो भने आँचल मेरो मिल्ने साथी मात्र हुन । हामी चलचित्र ‘जोनी जेन्टलम्यान’ मा मात्र प्रेम प्रेमिका बनेर काम गरेका छौ । म चाहन्छु हाम्रो यो साथ सय बर्षसम्म पनि टिकोस् ।’
पलले आँचल आफ्नो मिल्ने साथी भनेपछि उनको छेउमै रहेकी ‘जोनी जेन्टलम्यान’ की नायिका आँचलले पनि थपिन्, ‘म त यस्तो समाचारहरु आएकोमा निकै खुसी छु । बजारमा पल र मेरो प्रेम सम्बन्धको हल्ला चलेदेखी पलका फ्यानहरु पनि अहिले मेरो फ्यान हुनु भएको छ । म चाहन्छु यस्तो हल्लाहरु चलिरहोस् ।’ उनले चलचित्र ‘जोनी जेन्टलम्यान’ आफ्ना लागि विशेष रहेको पनि बताइन ।
‘नाइँ नभन्नू ल ४’ पछि यही चलचित्रको काममा अल्झिएका पलले भने भोलीबाट नै आफ्नो तेस्रो चलचित्र ‘म यस्तो गीत गाउँछु’ को वर्कशपमा समय विताउन सुरु गर्नेछन् ।
चलचित्र ‘जोनी जेन्टलम्यान’ मा पल जोनी देखी जेन्टलम्यान कसरी बन्छन् भन्ने देखाउन खोजिएको चलचित्रका निर्देशक नीतिन चन्द बताए । हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको चलचित्रलाई एन्ड्रिउ पौडेलले निर्माण गरेका हुन । चलचित्रका कार्यकारी निर्माता अजय मल्ल हुन् । लभस्टोरी, कमेडी र एक्शन प्रधान बताइएको यो चलचित्र अर्को बर्षको सुरुवातमा प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षले गरेको छ ।