निर्देशक बसन्त निरौला यति बेला नयाँ चलचित्र ‘मेला’ को शुटिङमा व्यस्त छन् । चलचित्र ‘राजनीति’ मा नायक राजेश हमाल र गायिका कोमल ओली, ‘बिजयपथ’ मा निखिल उप्रेती, सन्चिता लुइटेल र शुशिल क्षेत्री, चलचित्र ‘आवेग’ मा नायक आर्यन सिग्देललाई निर्देशन गरिसकेका बसन्तले स्टार कलाकारलाई लिएर काम गर्दा पाएको दुख बिर्सेका छैनन् । चलचित्रमा त काम गर्ने तर प्रमोशनको बेला आएपछि कुना पस्ने स्टार कलाकारको प्रवृतिले वाक्कदिक्क भएपछि पछिल्लो समय बसन्त नयाँ कलाकारलाई लिएर चलचित्र निर्देशनमा अगाडी बढेका छन् । गएको महिना उनी निर्देशित नयाँ कलाकारहरुको बाहुल्यता रहेको चलचित्र ‘समर्पण’ प्रदर्शनमा आएको थियो । अहिले चलचित्र ‘मेला’ मा अशिष्मा नकर्मीकोपछि दुई नायक आमेश भण्डारी र सलोन बस्नेतलाई दौडाएका बसन्त यो चलचित्रमा फरक काम गर्न लागेको बताउँछन् ।
‘त म र उँ’ र ‘फूलै फूलको मौसम तिमीलाई’ चलचित्रमा काम गरेपनि सफलताको सिढी चढ्न नसकेका आमेश भण्डारी, दर्जन बढी सिनेमामा काम गरेरपनि सफलताको श्रेय आफ्नो पोल्टामा पार्न नसकेका सलोन बस्नेत र सफलता के हो भन्ने स्वाद खोज्दै गरेकी नायिका अशिष्मा नकर्मीका लागि यो चलचित्र कस्तो भाग्यमानी सावित हुने हो त्यो भने भोलीको दिनले नै देखाउँला । तर, चलचित्र ‘मेला’ उत्कृष्ट बन्नेमा कलाकारहरु ढुक्क देखिएका छन् ।
मनोज कनोडिया र हरि पन्तले निर्माणमा तयार हुँदै गरेको यो चलचित्रलाई अहिले दिव्य सुवेदीले खिचिरहेका छन् । आधा दर्जन बढी सिनेमामा स्टार नायककी प्रेमिका बनर काम गरेकी तथा बसन्त निरौलाकी धर्मपत्नी पवित्रा आचार्यले भने पहिलो पटक चलचित्र ‘मेला’ मा कोरियोग्राफरको भूमिका सम्हालेकी छिन् । चलचित्र राज राधिका इन्टटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । वीरगंज आसपासमा छायाँकन भइरहेको यो चलचित्रमा अर्जुन पोखरेलको संगीत र अष्ट महर्जनको द्धन्द्ध रहेको छ ।