फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘लुट २’ को दोस्रो गीत रिलिज भएको छ । यसअघि सार्वजनिक भएको ‘ठमेल बजार’ बोलको गीतले नेपाली बजारमा तहल्का पिटिरहेको अबस्थामा निर्माणपक्षले ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक गरेको हो । यूवापूस्ताका दर्शकहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा सौगात मल्ल, विपिन कार्की लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको गीतमा चलचित्रका कलाकारहरु मस्ती मूडमा देखिएका छन् । गीतमा निश्चल बस्नेत र हर्कुलस बस्नेतको स्वर रहेको छ भने हर्कुलसको शब्द तथा संगीत छ । गीतमा स्वर्गीय गायक यमबुद्धलाई पनि निश्चल बस्नेतले सम्झिएका छन् ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ २०६९ सालमा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘लुट’ को दोस्रो भाग हो । निर्माणपक्षको दाबी अनुसार, पछिल्लो समय जनताहरु मारमा परेको भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि चलचित्रले पर्दाफास गर्नेछ ।