गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘प्रेम गीत’ को दोस्रो श्रृखलाको बाँकी छायाँकनका लागि नायक प्रदीप खड्का नव-नायिका अश्लेषा ठकुरीलाई लिएर थाइल्यान्ड उडेका छन् । शुक्रबार म्युजिकल ड्रामा ‘प्रेमगीत २’ को बाँकी छायाँकनका २३ सदस्यीय क्रिउ थाइल्यान्ड उडेको हो ।
१५ दिनसम्म थाई पर्यटकीय थलो र पाँच दिन म्यानमारको राजधानीमा खिचिने यो चलचित्रको काठमाडौंमा अझै दुई दिन लामो छायाँकन हुन बाँकी छ । ‘मुर्मापछि हामी बर्मातर्फ प्रस्थान गर्दैछौं’ थाइल्यान्ड उड्नु अघि त्रिभुवन विमानस्थलको प्रस्थान द्धार अगाडि निर्देशक पाठकले भने, ‘रारामा गज्जबको सुटपछि हाम्रो प्रयत्न थाइल्यान्ड र म्यानमार केन्द्रित हुनेछ ।’
म्यानमार र नेपालबीचको कन्टेन्टमा बुनिएको कथालाई निर्देशक पाठकले लेखेका हुन् । बैंकक क्रिउमा निर्माण कम्पनी आसुसेन प्रोडक्सनका जनसम्पर्क अधिकृत रेशम शाह, प्रोडक्सन डिजाइनर बुद्धिलाल मगर, छायांकार पुरुषोत्तम प्रधान, नृत्य निर्देशक रिनशा राई लगायत प्राविधिक छन् । सवा दुई करोड बजेटको यो प्रोजेक्ट नेपालको काठमाडौं, पोखरा, लुम्बिनी र रारामा सुट भैसकेको छ । चलचित्रलाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन ।