पहिलो डेव्यू चलचित्र ‘पिँजडा’ मा ७ तलाबाट हाम हालेर नेपाली रजतपटमा भित्रिएका नायक निखिल उप्रेती अहिलेका सर्वाधिक व्यस्त र सफल नायकको रुपमा चिनिन्छन् । ‘पिँजडा’ चलचित्रपछि २ सय बढी नेपाली चलचित्रमा काम गरिसकेका नायक निखिल उप्रेतीले झण्डै २ दशकपछि आफ्नै डेव्यू चलचित्रको दोस्रो भागमा काम गर्दैछन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माणपक्षले ‘पिँजडा ब्याक अगेन’ को घोषणा गरेको छ । हिमाल केसीले निर्देशन गर्ने यो चलचित्रमा नायक निखिलका अलवा सुस्मिता केसी, सारा, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, भोला सापकोटा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्रको निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक हिमाल केसीले ‘पिँजडा ब्याक अगेन’ सिक्वेल नभएको बताए । उनले भने -‘हामीले नाम मात्र सापटी लिएका हौ कथावस्तु विल्कुलै फरक छ ।’ उनका अनुसार, चलचित्र पूर्णतया एक्शन प्रधान रहनेछ । ‘पिँजडा’ मा अभिनय गरेका निरुता सिंह र रेश मरहठ्ठा ‘पिँजडा ब्याक अगेन’ मा किन अटाएनन् भन्ने पत्रकारको प्रश्नमा केसीले भने, ‘चलचित्रको कथावस्तुमा उहाँहरुको माग नभएका कारण नअटाउनु भएको हो ।’
श्री राम बराल प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई रोहित पुरी, गोविन्द गैरे र चन्द्र अधिकारीले निर्माण गर्दैछन् । भोलीबाट छायाँकन सुरु हुने यो चलचित्र चितवन, पोखरा लगायतका ठाउँहरुमा खिचिनेछ । त्यस्तै चलचित्रको विषयमा बोल्दै नायक निखिल उप्रेतीले डेव्यू चलचित्र ‘पिँजडा’ निर्माण गर्दाका केही किस्सा सुनाए । उनले भने -‘म त्यति बेला हिरो बन्नका लागि भारतमा थिएँ । पिँजडा बन्नुभन्दा अगाडी देखी नै पवन मैनालीसँग मेरो राम्रो सम्बन्ध थियो । बलीउडमा स्टन्ट म्यान भएर काम गर्दा मलाई पवन मैनालीले भन्नु भएको थियो मैले चलचित्र बनाए भने काम गर्नु पर्छ है भनेर । त्यही अनुसार पवन मैनालीले मलाई पिँजडाबाट डेव्यू गराउनु भयो । चलचित्र पिँजडामा जस्तो एक्शन अहिलेसम्म मैले कुनै चलचित्रमा दिएको छैन । त्यति बेला न प्रविधिको विकास भएको थियो, न कुनै स्टन्ट गर्दा सेफ्टी बेल्ट नै प्रयोग गरिन्थ्यो तर पनि हामीले त्यो समयमा आजको प्रविधिलाई च्यालेन्ज गरेका थियौं । अहिले त स्टन्ट गर्दा सेफ्टी बेल्ट प्रयोग गर्न पाइन्छ, कुनै खतरनाक स्टन्टहरु दिनु पर्दैन त्यो सबै अहिले एनिमेशनबाटै गर्न सकिन्छ । तर त्यति बेला ज्यान जोखिममा राखेर काम गर्नु पर्थ्यो ।’
उनले चलचित्र ‘पिँजडा’ मा काम गर्दाको जोश अझै पनि कम नभएको पनि बताए । उनले अगाडी थपे -‘पिँजडामा काम गर्दा ममा जुन जोश र जागर थियो अहिले पनि त्यसमा कमी आएको छैन । मेरो त्यो जोश फेरी पिँजडा ब्याक अगेनमा दर्शकहरुले देख्न पाउनु हुनेछ ।’
सुशान्त श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामाको छायाँकन, महेश खड्का, बसन्त सापकोटा, अर्जुन पोख्रेल र राजनराज सिवाकोटीको संगीत, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, कृष्णहरी बराल, राजनराज सिवाकोटी र मुक्त उदासको गीत रचना रहेको छ ।
निखिलको पहिलो डेव्यू चलचित्र ‘पिँजडा’ मा निरुता सिंह, रेश मरहठ्ठा, प्रसिद्धिका रायमाझी लगायतका कलाकारहरुको अभिनय रहेको थियो । डनको भूमिका निर्वाहा गरेका निखिल उप्रेतीको ‘पिँजडा’ लाई देशभक्त खनालले निर्देशन गरेका थिए ।
तश्वीर : मिलन ढुंगाना