केही बर्ष अगाडीसम्म नेपाली चलचित्रमा लगानी गर्नु भनेको बालुवामा पानी हाल्नु सरह हो भन्ने गरिन्थ्यो । तर, २०६९ सालमा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ ले त्यो सोचलाई नराम्रैसँग तोड्यो । लगानी उठाउन समेत मुश्किल पर्छ भन्ने सोच पालेर बसेका नेपाली निर्माताहरुलाई ‘लुट’ को व्यापारले गज्जबकै पाठ सिकायो । २०६९ सालमा ५१ दिन मनाउँदा चलचित्र ‘लुट’ ले ४ करोड ग्रस कलेक्शन गरेको थियो । ‘लुट’ को उक्त व्यापारलाई आजभन्दा २ बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘कोहिनूर’ ले तोड्यो । खबरका अनुसार, ‘कोहिनूर’ को लाइफटाइम कलेक्शन ११ करोड थियो । धेरैले अब ‘कोहिनूर’ को व्यापार तोड्न असम्भव रहेको समेत भने तर भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले सारा रेकर्ड ब्रेक गर्यो । केही हप्ता अगाडी मात्र सय दिन मनाएको ‘छक्का पन्जा’ को व्यापार १६ करोड रहेको वितरक बताउँछन् । यो व्यापारलाई नेपाली चलचित्र इतिहासकै उच्च मानिएको छ ।
अब ‘छक्का पन्जा’ को यो रेकर्डलाई कुनै चलचित्रले तोड्न सक्छ भने त्यो ‘लुट २’ हो भन्ने बहसले यति बेला सिनेबजार तातेको छ । ट्रेलर र ‘ठमेल बजार’ बोलको गीतले छुट्टै हाइप लिइसकेको चलचित्र ‘लुट २’ ले नेपाली बजार मात्र होइन विदेशी बजार लुट्नेमा पनि शंका छैन तर ‘छक्का पन्जा’ को रेकर्डलाई तोड्न सक्छ वा सक्दैन ? यसले चाहिँ यति बेला आम साधारण मानिस देखी चलचित्रकर्मीहरुलाई पनि जिज्ञासु बनाइरहेको छ । अब यो त फागुन १३ पछि नै थाहा होला कि ‘छक्का पन्जा’ माथी ‘लुट २’ भारी पर्ला वा नपर्ला ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ ।
निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।