भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘६क्का पन्जा’ ले तताएको नेपाली बजार असोज २१ गते प्रदर्शनमा आएको चलचित्र ‘किस्मत २’ ले पनि केही रन्कायो । तर, त्यसपछि नेपाली चलचित्रहरु एकपछि अर्को गर्दै फल्पको सूचीमा लगातार दर्ता भइरहेका छन् । आश गरिएको चलचित्रहरुले नै दर्शकहरुलाई निराश बनाउँदै गएपछि अहिले नेपाली बजार सुनसान देखिएको छ । बलीउड चलचित्र ‘दंगल’, ‘रईस’ र ‘काबिल’ ले नेपाली बजारबाटै करोडौ छाप्दा नेपालका प्रतिक्षित भनिएका चलचित्रहरु भने एकदिन पनि हलमा टिक्न सकेका छैनन् । यसबाट निर्माता मात्र कंगाल भएनन् चलचित्रका कलाकारहरुलाई पनि नराम्रैसँग धक्का दियो । कुरा गरौं, गएको महिना अर्थात पुष २८ गते प्रदर्शनमा आएको चलचित्र ‘किंग’ को । नायक निखिल उप्रेती स्टारर चलचित्र ‘किंग’ ले सोचे जस्तै व्यापार गर्नेमा निर्मातादेखी कलाकारहरु सबै ढुक्क थिए । यतिसम्मकी निखिल उप्रेतीको यस बर्षका लागि यो पहिलो चलचित्र समेत थियो तर नेपाली हलहरुमा प्रदर्शनको एक दिन अर्थात शनिबार सिंगल हलहरुमा हाउसफुल दर्शक भित्राएपनि आइतबारबाट भने ‘किंग’ हेर्न दर्शकहरुले खल्ती रित्याएनन् । कमजोर कथावस्तुका कारण निखिल उप्रेतीको चलचित्र ‘किंग’ हेर्न गएका दर्शकहरु हलबाट निस्कदा गाली गर्दै फर्किए । यसले निखिलको स्टारडमलाई समेत कमजोर बनाएको भन्ने हल्ला पनि खुबै चल्यो । निखिललाई त केही भएन किनकी उनी लगातार एकपछि अर्को चलचित्रमा व्यस्त छन् । तर, नायिका बेनिशा हमालको भने ‘किंग’ असफल हुँदा भोक-निन्द्रा हराएको छ । उनको यस बर्षका लागि यो चलचित्र दोस्रो थियो । यस बर्षको जेठ २१ गते प्रदर्शनमा आएको चलचित्र ‘कालो पोथी’ मा छोटो भूमिकामा भएपनि उनलाई दर्शकहरुले खुबै रुचाएका थिए । तर, ‘कालो पोथी’ प्रदर्शनमा आएको ७ महिनापछि उनी अभिनित चलचित्र ‘किंग’ हलमा लाग्दा पनि कमाल नगरेपछि उनलाई बजारमा अनलक्की नायिका समेत भन्न थालिएको छ । म्युजिक भिडियोमा दैनिकीजस्तो टेलिभिजनको पर्दामा अनि युट्युवमा आउने बेनिशा ७ महिना लामो अन्तरमा ठूलो पर्दामा आउँदा पनि सफलता हात पार्न नसक्दा यसले उनको करियरलाई समेत धक्का पुगेको छ । अब उनको यस बर्षका लागि अरु कुनै पनि चलचित्र रिलिजको तयारीमा छैनन् । चाँडै चलचित्र ‘ब्लाइन्ड रक्स’ को छायाँकनमा व्यस्त हुन लागेकी बेनिशा अब यही चलचित्रले आफ्नो करियरलाई माथी उठाउन सक्छ कि भन्ने विश्वासमा छिन् । दृष्टिबिहिन श्रृष्टी केसीको जीवनीमाथि बन्ने यो चलचित्रमा बेनिशाले चलचित्रमा श्रृष्टीको भूमिका निर्वाहा गर्नेछिन् ।