यस बर्ष चलचित्र ‘लुकामारी’ र ‘शब्द’ प्रदर्शनमा आउँदा पनि राहत महशुस नगरेका नायक सौगात मल्ल अभिनित अर्को चलचित्र ‘डाइङ क्यान्डल’ यही महिनाको माघ २८ गतेबाट प्रदर्शनमा आउँदैछ । हप्ता ननाध्दै शहरका भित्ताहरुमा सौगात अभिनित चलचित्रका पोष्टर फेरिदै गर्दा कतै उनको क्रेज गुम्दै त छैन ? भन्ने बहस चलिरहेको अबस्थामा चलचित्र ‘डाइङ क्यान्डल’ ले भने दर्शकहरुलाई सजिलै हलसम्म तान्न सफल हुनेमा उनी ढुक्क छन् ।
त्यस्तै, निर्देशक नरेश केसी चलचित्र ‘डाइङ क्यान्डल’ नेपाली मौलिक कथामा निर्माण भएको बताउँछन् । “दिदी भाइको आत्मीय सम्बन्ध नै चलचित्रको मुख्य कथानक हो,” निर्देशक केसीले भने, “अहिले चलिरहेका चलचित्रभन्दा केही फरक तरिकाले कथा भन्ने प्रयास गरेको छु ।” भाइको हेरचाहमा दिदीले गर्ने योगदान चलचित्रको मुख्य कथा हो । सोसल ड्रामा जनराको यो चलचित्रले एक महिला पात्र भित्रको मूल्य र संवेदनालाई खोतल्ने प्रयत्न गरेको उनको भनाइ छ । मुख्य चरित्रमा महिला पात्र सिर्जना सुब्बा र लाक्पा सिङ्गे तामाङ छन् । सौगात मल्ल र अर्पण थापाले चलचित्रमा अभिनय गरेका छन् । उत्तम केसी, रविन आचार्य र केसी निर्मित चलचित्रमा डेल सम्नरको संगीत छ भने संदीप अधिकारीले सम्पादन गरेका छन् ।