‘भगवान सबैको’, ‘अकाल’, ‘कर्णवीर’, ‘अंग रक्षक’, ‘ममता’, ‘कस्तो साइनो…!’, ‘फैसला’ लगायत दर्जन बढी सिनेमामा स्क्रिन शेयर गरेका नायिका रेखा थापा र नायक राजेश हमालको बोलचाल बन्द भएको झण्डै १ दशक हुन लागिसकेको छ । ‘किन राजेश हमालसँग बोलचाल हुँदैन ?’ भन्ने प्रश्नको उत्तर रेखाले बारम्बार दिएपछि अहिलेसम्म यो विषयमा राजेश हमाल भने चुप छन् । पर्दामा खुबै रुचाइयो यो जोडीलाई पछिल्ला केही बर्षयता सँगै एकसाथ देखिएको पनि छैनन् । यतिसम्मकी एउटै कार्यक्रममा राजेश र रेखा आम्नेसाम्ने हुँदापनि उनीहरु ‘हेल्लो हाई’ सम्म भन्दैनन् । यसबाट के थाहा हुन्छ भने रेखा र राजेशको दुश्मनी तपाई हामीले देखेको भन्दा कम छैन । तर रेखा थापाले राजेश हमाललाई ‘असामाजिक’ को संज्ञा दिएपछि उनीहरुबीच बोलचाल बन्द भएको बताइन्छ । केही बर्ष अगाडी नेपाल राष्ट्रिय साप्ताहिकमा अन्तर्वार्ता दिने क्रममा रेखाले भनेकी थिइन, ‘सुटिङ सेटमा घमण्ड देखाउने व्यवहार हेर्दा उहाँ मलाई असामाजिक लाग्छ।’
रेखा थापाले राजेश हमाललाई ‘असामाजिक’ को संज्ञा दिएपनि राजेश हमाल यो विषयमा चुप हुनुले अहिलेसम्म रेखासँग उनको के यस्तो भएको थियो जस कारण आज उनीहरु एकअर्काको अनुहार पनि हेर्न चाहँदैनन् भन्ने खुल्न सकेको छैन । तपाईहरुलाई स्मरण रहोस्, नायिका रेखा थापाको डेव्यू नै नायक राजेश हमाल अभिनित चलचित्र ‘हिरो’ बाट भएको थियो ।
हुनत, रेखाको राजेश हमालसँग मात्र होइन नेपालका दर्जन भन्दा बढी फिल्मकर्मीसँग पनि सुमधुर सम्बन्ध नरहेको सबैलाई थाहा छ । हिजो जोसँग उनी सबैभन्दा नजिक थिइन, आज उनीहरुसँग रेखाको पानीबाराबार छ । राजेश हमालपछि रेखासँग बोलचाल बन्द हुने सूचीमा निर्देशक श्याम भट्टराई, नायक आर्यन सिग्देल, नायक निखिल उप्रेती, नायक विराज भट्ट, नायक तथा गायक यशकुमार लगायत पर्छन ।