गएको पुष २८ गते प्रदर्शनमा आएको निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ का वितरक गोपालकाजी कायस्थमाथी अर्का वितरक गोविन्द शाहीले ८/१० जना व्यक्ति खटाएर कुटपिट गरेपछि नेपाल चलचित्र संघले बिहिबार एक विज्ञप्ती जारी गर्दै वितरक गोविन्द शाहीले वितरण गर्ने चलचित्रलाई प्रदर्शनमा रोक लगाएको छ । संघका महासचिव मधुसूदन प्रधान हस्ताक्षेरित विज्ञप्तीमा लेखिएको छ, ‘अशोभनीय, निन्दनीय तथा गैर जिम्मेवारीपूर्ण कार्य गोविन्द शाहीबाट भएको हुँदा संघको गरिमामाथी आघात पुराउने कोशिस गर्दै छलफलमा बोलाईएका सदस्य गोविन्द शाहीले अनुशासन हीनताको कराकाष्ठा प्रदर्शन गरेको हुनाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि निजको विक्रि वितरणमा रहेका चलचित्रहरु नेपालभर प्रदर्शनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ ।’
हिजो माघ २६ गते दिउँसो १ बजे चलचित्र संघको हाता भित्र गोविन्द शाहीले केही अपरिचित व्यक्तिहरु खटाएर वितरक गोपाल कायस्थमाथी हातपात गर्न लगाएका थिए । यी दुई वितरकबीच चलचित्र ‘किङ’ को शेयर लेनदेनको सम्बन्धमा मनमुटाव भएको थियो । यसलाई चलचित्र संघले मिलाएर लैजाने तयारी गरेपनि वितरक गोविन्द शाहीले जर्वजस्ती केही व्यक्तिहरु खटाएर गोपाल कायस्थमाथी कुटपिट गर्न लगाएका थिए । खबरका अनुसार अहिले गोविन्द शाही सम्र्पकविहिन छन् । गोविन्द शाहीले वितरण गर्ने जिम्मा लिएको चलचित्र ‘लप्पन छप्पन’ यही चैत ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।