नयाँ चलचित्र निर्माणको सूचीमा अर्को नयाँ नाम थपिएको छ, ‘मधु मालती’ । बिहिबार यो चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । नयाँ कलाकारहरुको बाहुल्यता रहेको चलचित्र ‘मधु मालती’ लाई चलचित्र ‘सो सिम्पल’ का सह-निर्देशक शिशिर चालिसेले निर्देशन गर्न लागेका हुन । चलचित्रमा उनकै लेखन रहेको छ । लीड नायकमा अनुरोप पोख्रेल र नायिकामा कुसुम नेपाल रहने यो चलचित्रमा सविना थापा, केशव भट्टराई, रुपा राना लगायततका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । प्रेम कथामा आधारित भएर निर्माण हुने बताइएको यो चलचित्रका लागि नव-नायक अनुरोप पोख्रेले १० दिनमा ३ केजी तौल घटाएको कार्यक्रममा सनाए । त्यस्तै, नव-नायिका कुसुम नेपालले चलचित्र ‘मधु मालती’ को कथा मन परेको कारण काम गर्न लागेको बताइन ।
नवराज उप्रेतीको छायाँकन, प्रितम पाण्डेको सम्पादन, दावा दोर्जे लामा र मिलन सुर्खेतीको संगीत, मेलिना राई, किरण गज्मेर, मिलन सुर्खेत र दावा दोर्जे लामाको स्वर रहने यो चलचित्रको निर्माण लागत १ करोडमाथी रहने निर्माता शंकर कार्कीले बताए ।
फागुन १७ गतेबाट छायाँकन सुरु हुने यो चलचित्रको छायाँकन काठमाडौं, इलाम, हेलम्बू लगायतका स्थानहरुमा हुनेछ ।