नेपालमा प्रत्येक बर्ष झण्डै डेढ सय बढी चलचित्रहरु प्रदर्शनमा आउँछन् । कति चलचित्र सफल हुन्छन् भने कति कहिले आएँ र कहिले गएँ भन्ने पनि थाहा हुँदैन । क्रमश नेपाली चलचित्र निर्माण हुने क्रम बढ्दै गएपछि चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहन स्वरुप विभिन्न एवार्डहरु पनि हुँदै आएका छन् । अहिले नेपालमा प्रत्येक बर्ष झण्डै एक दर्जन बढी एवार्ड कार्यक्रमहरु आयोजना हुने गर्छन् । एवार्ड हुनु नराम्रो होइन तर पछिल्ला केही बर्षलाई हेर्ने हो भने एवार्ड निपष्क्ष नभएको आरोप लाग्दै आइरहेको छ । एवार्डमै मनोमानी हुने प्रवृति ह्वात्तै बढिरहेको अबस्थामा यसको विरोध गर्नेहरु पनि अहिले धेरै जन्मिसकेका छन् । त्यस्तै लगातार एकपछि अर्को गर्दै सफल चलचित्र निर्माण गरिरहेका हास्यकलाकार दीपकराज गिरीले एवार्डको विषयमा आफ्नो कडा जबाफ दिएका छन् । ‘साप्ताहिक’ सँगको अन्तर्वार्ताको क्रममा दीपकराज गिरीले जुरीको निर्णयभन्दा पनि जुरी चयनमै समस्या रहेको बताएका छन् ।
उनले अन्तर्वार्तामा भनेका छन्, ‘एवार्ड वितरणका क्रममा गम्भीरताको अभाव देखिन्छ । जुरीको निर्णयभन्दा पनि जुरी चयनमै समस्या छ, मैले यही कुराको विरोध गरेको हुँ । एवार्ड वितरणमा राम्राभन्दा हाम्रातिर लाग्ने प्रवृत्तिको मात्र विरोध गरिएको हो ।’ ‘चलचित्र एवार्डका जुरी नै अयोग्य भएका हुन् ?’ भन्ने प्रश्नमा दीपकराज गिरी भन्छन्, ‘जब पत्रिकामा कुनै कोलम लेख्ने मान्छे जुरीमा पुग्छ उसको पत्रकारिताको इतिहास नै १० वर्षभन्दा लामो छैन । एउटा चलचित्र वा एउटा टेलिफिल्म बनाएको व्यक्ति यहाँ जुरी बन्छ, उनीहरूको योग्यताका बारेमा मैले केही बोलिरहनुपर्छ र ?’ आफ्नो चलचित्र उत्कष्ट ५ मनोनयनमा पनि नपरेपछि एवार्ड आयोजक प्रति आक्रोस पोख्दै आएको आरोप लागेका दीपकराज गिरीले आफुले निर्माण गरेको चलचित्र उत्कृष्ट ५ मनोनयनमा पर्छ भन्ने दाबी मात्र गरेको बताए । उनले अगाडी भने -‘हाम्रो सर्वोत्कृष्टको दाबी होइन । मात्र उत्कृष्ट ५ मनोनयनमा पर्छ भन्ने दाबी गरेका हौं ।’