फागुन १३ गते रिलिज हुन लागेको पाका निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ २’ को नयाँ गीत रिलिज भएको छ । ‘तरङ नौलो’ बोलको गीतमा चलचित्रका दुई कलाकार पुष्पल खड्का र साहारा कार्की फिचरिङ छन् । मनमोहक लोकेशनमा खिचिएको गीतमा पुष्पल र साहाराको केमेष्ट्रीले थप सुन्दरता थपेको छ । रञ्जित गज्मेरको संगीत रहेको गीतमा मेलिना राईको स्वर छ ।
चलचित्रमा पुष्पल र साहाराका अलवा श्रद्धा प्रसाई, फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता भने डाक्टर लोपसाङ लामा हुन् । चलचित्रका गीतहरुमा रञ्जित सिंह गज्मेर, चंदन लोम्जेलको संगीत रहेको छ भने राजेश पायल राई, मेलिना राई, अशोक धमला, शिव परियार, कर्माको स्वर सुन्न सकिन्छ । चलचित्रको कथा निर्देशक तुलसी घिमिरे आफैले तयार पारेका हुन ।
निर्देशक तुलसी घिमिरेले १६ बर्षपछि दीलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंह अभिनित चलचित्र ‘दर्पण छायाँ’ को पछाडी ‘टु’ थप्दै ‘दर्पण छायाँ २’ तयार पारेका हुन । सन् २००१ मा प्रदर्शनमा आएको यो चलचित्र त्यसबेलाको सुपरहिट चलचित्रको सूचीमा दर्ता भएको थियो ।