अनमोल केसी, नाम नै काफी छ । युवापुस्ताका दर्शकहरुका लागि नेपाली सलमान खान हुन अनमोल । जति फ्यान बलीउडको ठूलो बजारमा बसेर सलमानले कमाएका छन्, त्यसको तुलनामा केहि कम भएपनि अनमोलको स्टारडमले अहिले नेपाली बजार हल्लिने गर्छ । चार चलचित्रमा काम गरेरै आफ्नो बलियो उपस्थिती जनाइसकेका अनमोल केसीको यस बर्ष ‘गाजलु’ प्रदर्शनमा आयो । अब ‘गाजलु’ बाहेक यस बर्ष उनको कुनै पनि चलचित्र प्रदर्शनमा आउने तयारीमा छैनन् । अर्को बर्षको पनि अन्त्यमा आउन सक्छ अनमोलको चलचित्र ‘कृ’ । अहिले अनमोल यही चलचित्रका लागि आफ्नो ज्यान बनाउँदैछन् भने कपाल पनि उतिक्कै बढाउँदैछन् । अनमोल चाहन्छन् आफ्नो लुक्स ‘कृ’ को फस्टलुक पोष्टरबाट मात्र बाहिरियोस् त्यसैले त उनी झण्डै ५ महिनादेखी घरको चार कुनामा मात्र सिमित छन् । एक तश्वीर हेर्न मात्र पनि आतुर छन् उनका फ्यानहरु तर अनमोल भने ‘कृ’ को छायाँकन अगावै आफ्नो एक तश्वीर पनि बाहिर नल्याउने तयारीमा छन् ।
यस्तैमा, केही हप्ता अगाडी अनमोल आफ्नो साथी तथा नायक सलोन बस्नेतको व्रतबन्धमा पुगेका थिए र त्यस बखत खिचिएका उनका केही तश्वीरहरु सामाजिक सञ्जालदेखी मिडियामा खुबै भाइरल बन्यो । काहिँ कतै जानु परे कपाल छोपेर निस्किने अनमोलको एक तश्वीर फेरी यति बेला भाइरल बनेको छ । अनमोलको ‘कृ’ लुक्स कलाकार महादेव त्रिपाठीले फेसबुकमार्फत सार्वजनिक गरेका हुन । आफ्नो निर्देशनमा तयार भएको चलचित्र ‘जादुगर २ जोकर’ को गीत देखाउन उनी नायक भुवन केसीको नीजि निवास पुगेका थिए । त्यहाँ अनमोल र भुवनले ‘जादुगर २ जोकर’ को गीत हेरे । गीत हेरेपछि महादेवले अनमोलसँग एक सेल्फी लिए र आफ्नो फेसबुकमा शेयर गरे । तश्वीरमा अनमोलले बढाइरहेको कपाल स्पष्ट देखिन्छ तर उनले कालो कपडाले आफ्नो कपाल छोप्ने प्रयास भने गरेका छन् । कपडाले आफ्नो कपाल छोप्ने प्रयास गरेपनि अनमोलको लामो भएको कपाल तश्वीरमा भने स्पष्ट देखिएको छ ।
एक तश्वीर हेर्न पनि आतुर उनका फ्यानहरुलाई यो तश्वीरले झन कौतुहलता थप्नेमा दुई मत छैन । चलचित्र कृमा अनमोलले नव-नायिका अदिती वुढाथोकीसँग रोमान्स गर्दैछन् ।
यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहेका छन् ।