२०६९ सालमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘लुट’ को ‘उध्रेको चोली’ ले त्यस बखत नेपाली बजार राम्रै पिटेको थियो । गीतका कारण पनि ‘लुट’ ले नेपाली बजारबाट मनग्य पैसा छाप्यो । यसको ४ बर्षपछि माधव वाग्ले र नरेन्द्र महर्जनले ‘लुट २’ निर्माण गरेका छन् । निश्चल बस्नेतको कथा र निर्देशनमा तयार भएको ‘लुट २’ यही फागुन १३ गतेबाट हलमा लाग्दैछ । यो चलचित्रको चर्चा नेपाली सिनेवृतमा यसरी चुलिएको छ कि फागुन १३ गतेदेखी नेपाली हलहरुमा दर्शकहरुको ताँती लाग्नेमा कुनै शंका छैन । चलचित्र ‘लुट २’ ले हाइप लिनुमा यसमा समाबेश आइटम गीत ‘ठमेल बजार’ को पनि महत्वपूर्ण भूमिका छ । कालिप्रसाद बास्कोटा, मिना निरौला र भानुभक्त ढकालको स्वर रहेको यो गीत अहिले चौक, गल्लीदेखी चिया पसलसम्म गुञ्जिने गरेको छ । यति मात्र कहाँ हो र यो गीतले युटुबमा नयाँ रेकर्ड समेत राखेको छ । युटुबमा सार्वजनिक भएको ४ महिनामा नै यो गीतले करोड भ्यूअर्स पाएको हो । छोटो समयमा नै करोड ‘भ्यू’ पाएको यो गीत पहिलो भएपनि करोड भ्यूअर्सको सूचीमा भने यो गीत तेस्रो नम्बरमा उभिएको छ ।
यसअघि चलचित्र वडा नम्बर ६ को ‘सुर्के थैली खै’ र ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’ ले युटुबमा करोड भ्यूअर्स पाएको थियो । गीतले युटुबमा करोड भ्यूअर्स पाएपछि यति बेला सबैको ध्यान ‘लुट २’ ले चाहिँ कस्तो व्यापारिक रेकर्ड बनाउने हो यसतर्फ मोडिएको छ । निर्माता माधव वाग्लेले त बारम्बार भनिरहेका छन् ‘लुट २’ ले ‘छक्का पन्जा’ को रेकर्ड २१ दिनमा नै तोड्छ । तर, यसको रिजल्ट कुर्न भने केही दिन पर्खनै पर्ला । तपाईहरुलाई के बताइदिउँ भने ‘छक्का पन्जा’ को रकेर्ड तोड्न चलचित्र ‘लुट २’ ले नेपालबाट १७ करोडको विजनेश गर्नु पर्छ ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ । निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।