पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘लम्फू’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘लम्फू’ को निर्माण घोषणा गरिएको हो । चलचित्रको निर्माण घोषणासँगै निर्माणपक्षले कलाकारहरु पनि सार्वजनिक गरेको छ । चलचित्रमा नायक सलोन बस्नेतले दुई नायिका मरिस्का पोख्रेल र चाँदनी शर्मासँग रोमान्स गर्नेछन् । भोलीबाट फ्लोरमा जाने यो चलचित्रमा सुखी र सम्पन्न बन्ने लक्ष्य लिएर यात्रामा निस्किएको एक पात्रको जीवन भोगाईको क्रममा हुने विभिन्न उतार चढावलाई पर्दामा उतारिने चलचित्रका निर्देशक गोपाल चन्द्र लामिछानेले बताए ।
४० दिनसम्म खिचिने यो चलचित्रमा सलोन, मरिस्का र चाँदनीको अलवा सन्जित भण्डारी, ओम गुरुङ, कबिर खड्का, वाल कलाकार कुशाग्र भट्टराई लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । चलचित्रका निर्माता शक्तिबल्दव घोरासैनी हुन । चलचित्रमा भूपतिको कथा, दीपक बज्राचार्यको छायाँकन, हरी सिलवालको सम्पादन, अर्जुन पोख्रेलको संगीत, पुनम इन्टरटेन्मेन्ट प्रा.लीको कस्ट्यूम डिजाइन, अष्ट महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामिछानेको नृत्य, प्रमोद ढुंगाना, नरेश भट्टराई, यूवराज सापकोटा र दिग्गज धौलारीको गीत रचना रहनेछ । चलचित्रको छायाँकन पर्वत र काठमाडौंमा हुनेछ ।