
काठमाडौँ । कलाकर्मीहरूले ‘राते काइँला’ नामले परिचित अभिनेता सुनील थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको बताएका छन् । शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएका ६८ वर्षीय थापाको निधन भएको थियो ।
प्रारम्भिक जाँच गरेपछि अस्पतालले उनलाई शनिबार बिहान ७ बजेर ४४ मिनेटमा निधन भएको घोषणा गरेको थियो । नेपालीसँगै भारतीय चलचित्रमा प्रसिद्ध नाम बनेका अभिनेता थापाको निधन चलचित्रकर्मी स्तब्ध भएका छन् । पछिल्लो समय थापाले नेपाली चलचित्र ‘राम नाम सत्य’ को छायाङ्कन गरिरहेका थिए ।
उक्त फिल्ममा खलपात्रको भूमिकामा निर्वाह गरिरहेका थापाको छायाङ्कनको अन्तिम दिन शनिबार रहेको उक्त चलचित्रका निर्देशक माइकल चन्दले जानकारी दिए । ‘शुक्रबार राति १० बजेसम्म अभिनेता थापा छायाङ्कनमै हुनुहुन्थ्यो । हामीले उहाँको सम्पूर्ण काम शुक्रबार राति नै सकाउने तयारी गरेका थियौँ तर उहाँले नै शनिबार बिहान गरौँ भनेपछि सारेका थियौँ । पछिल्लो समय झण्डै चार हप्तादेखि उहाँले फिल्ममा काम गरिरहनुभएको थियो,’ उनले भने ।
निर्देशक चन्दका अनुसार खलपात्रको भूमिका निर्वाह गरिरहेका थापाको अन्त्येष्टिकै दृश्य शनिबार छायाङ्कन गर्ने तयारी भएको थियो । उनले निर्वाह गर्नुभएको खलपात्रलाई फिल्मका अभिनेता विराज भट्टले ‘राम नाम सत्य’ को छायाङ्कन गर्ने दृश्य थियो ।
निर्देशक चन्दले भावविह्वल हुँदै भने, ‘फिल्ममा उहाँलाई जलाउने दृश्य खिच्नु थियो । हामीले केही दिनदेखि द्वन्द्वका दृश्य छायाङ्कन गरिरहेका थियौँँ, सोही कारण एकहप्तादेखि निरन्तर छायाङ्कनमा संलग्न थियौँ । उहाँले शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म छायाङ्कन गरेर एउटा पारिवारिक समारोहमा सहभागी हुनुपर्ने कुरा बताउनुभएको थियो । शुक्रबार बेलुका नियमित रुपमा छुटिएका थियौँ, त्यो नै अन्तिम भेट भयो ।’
उनीसँगै चलचित्रमा अभिनय गरिरहेका अभिनेता प्रशान्त ताम्राकारले अभिनेता थापाको निधनलाई पत्याउन गाह्रो भइरहेको बताए । ‘शनिबार बिहान हामी अभिनेता थापालाई छायाङ्कनका लागि कुरिरहेका थियौँ, अचानक उहाँ नरहेको खबर आयो । मैले चलचित्र ‘राम नाम सत्य’ मा पहिलो दृश्य उहाँसँगै दिएँ, हिजो बेलुकी अन्तिम दृश्य पनि उहाँसँगै भयो । उहाँले मलाई छायाङ्कन अवधिभर प्रोत्साहन गरिरहनुभयो, आफ्नो अनुभवले हामीलाई मार्गनिर्देश गर्नुहुन्थ्यो’, अभिनेता ताम्राकारले भने ।
अभिनेता भुवन केसीले फिल्म क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको प्रतिक्रिया दिए । नेपालीसँगै भारतीय फिल्ममा स्थापित भएका अभिनेता थापा आफ्नो एक असल मित्र रहेको उनले बताए ।
‘अभिनेता थापा मेरा लागि कलाकारभन्दा पनि असल मित्र हुनुहुन्थ्यो । फिल्म ‘चिनो’ मा पहिलोपटक काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौँ अन्तरङ्ग क्षण बिताएका थियौँ । मैले निर्माण गरेका चलचित्रहरु ‘सपना’ देखि ‘क्याप्टेन’ सम्म हामीले सहकार्य गरेका छौँ । उहाँ र म अर्कालाई भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ । उहाँको बिदाइले हामीलाई अपुरणीय क्षति पुगेको छ”, अभिनेता केसीले भने ।
अभिनेता राजेश हमालले अभिनेता थापालाई एक अद्भूत क्षमता भएका सहकर्मीका रुपमा स्मरण गरिरहने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अभिनेता थापाले कलाकारितामा देखिएको रिक्तता कहिल्यै भरिन नसक्ने उल्लेख गरेका छन् ।
‘नेपाली चलचित्रको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो चलचित्र यात्रा तपाईंप्रति समर्पित गर्दछु । तपाइको अभाव सधैँ महसुस हुनेछ”, अभिनेता हमालले उल्लेख गरेका छन् ।
नेपाली फिल्म ‘चिनो’मार्फत अभिनेता थापालाई नेपाली फिल्ममा स्थापित गराएका निर्देशक तुलसी घिमिरेले पात्रलाई जीवन्त बनाउन सक्नु नै उनको खुबी रहेको बताए । ‘अभिनेता थापाले आफ्नो कामलाई सधैँ गम्भीरतापूर्वक लिएर सम्पन्न गर्न मेहनत गर्नुभयो । पछिल्लो समय मैले चलचित्र ‘पहाड’ मा उहाँसँग काम गरेँ, उहाँका मेहनत भाव देखेर म खुसी थिएँ । हामीले उहाँको दृश्यलाई समावेश गरेर प्रचार गर्न श्रव्यदृश्य (टिजर) तयार गरेका थियौँ, त्यही देखाउने सल्लाह हुँदै थियो, अचानक दुःखद् खबर सुनेँ । उहाँको अनुपस्थिति हामी चलचित्रकर्मीलाई महसुस हुनेछ”, निर्देशक घिमिरेले भने ।
नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि १ बजेर ३० मिनेटसम्म चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा राखेर पशुपति आर्यघाटमा लगी उनको अन्त्येष्टि सम्पन्न भएको छ ।
अभिनेता थापाको जन्म २०१७ जेठ ६ गते दाङमा भएको थियो । कलाकारिता गर्नुअघि उनले मुम्बईमा मोडलिङ, फुटबल खेल तथा फोटो पत्रकारिताजस्ता क्षेत्रमा काम गरे । भारतीय चलचित्र ‘एक दुजे के लिये’ बाट कलाकारिताको सुरुआत गरेका थापाले नेपाली फिल्म ‘मसाल’ मार्फत नेपालमा अभिनय यात्रा प्रारम्भ गरे । करिब दुई सय हाराहारी फिल्ममा अभिनय गरेका थापाले नेपाली, हिन्दी र भोजपुरी भाषाका फिल्ममा काम गरेका छन् । पछिल्लो समय ‘द फ्यामिली म्यान’ नामक भारतीय वेब शृङ्खलाले उनलाई चर्चामा ल्याएको थियो । उनकोे एक श्रीमती, एक छोरा र एक छोरी छन् ।



