कुनै समयका चर्चित नायक हुन, शिव श्रेष्ठ । चलचित्र ‘जीवन रेखा’ बाट नेपाली रजतपटमा भित्रिएका शिवले त्यसपछि सयभन्दा बढी नेपाली चलचित्रमा काम गरे । उनको नाममा सुपरहिट चलचित्रदेखी निर्माता कंगाल बनाएका चलचित्रहरु समेत दर्ता छन् । नेपालीसँगै एक समय शिवको पाकिस्तानी र बंगाली चलचित्रमा समेत बोलवाल थियो । कुनै समय एकपछि अर्को चलचित्रमा अनुबन्धित भईहाल्ने शिव श्रेष्ठ केही बर्षदेखी भने नेपाली चलचित्रबाट विश्राम लिएको देख्न सकिन्छ । पुस २४, २०७२ मा उनी अभिनित चलचित्र ‘बागमती’ प्रदर्शनमा आएको थियो तर यो चलचित्रले शिव श्रेष्ठको साख जोगाउन सकेन । कमजोर भूमिकामा कारण ‘बागमती’ हेरेका दर्शकहरुले उल्टै शिवको आलोचना गरे । एक्शन नायकको छवि बनाएका शिवले पछिल्लो समय होटल व्यबसायतर्फ पनि हात हालेका छन् । गएको महिना मात्र उनले काठमाडौंको भैंसीपाटीमा कफी सप खोलेका थिए । यसले पनि के देखाउँछ भने शिव विस्तारै नेपाली चलचित्रबाट विश्राम लिने तयारीमा छन् ।
केही महिना अगाडी एउटा खबर राम्रै भाइरल बनेको थियो कि, ‘नायक शिव श्रेष्ठ पनि अमेरिका भाँसिदैछन्’ । त्यसैबेला फेरी अर्को खबर आयो, ‘शिव श्रेष्ठलाई अमेरिकाले भिषा दिन मानेन’ । यही हल्लाको बीच शिव श्रेष्ठ एक अवार्डका लागि अमेरिका हानिए । त्यसपछि फेरी एउटा खबरले नेपाली सिनेवृत तात्यो, ‘शिव श्रेष्ठ पलायन भए’ ।
झण्डै एक महिनासम्म नेपालमा आयोजना भएका कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिँदा शिव श्रेष्ठ अमेरिका पलायन भएको हल्ला खुबै चलेको थियो तर हालैमा उनी केही सार्वजनिक कार्यक्रममा देखिएका थिए । यसले शिव श्रेष्ठ अमेरिका पलायन भएका छैनन् भन्ने पृष्टि त गर्यो तर शिव नेपाली चलचित्रबाट किन सुस्ताउँदै छन् ? त्यसको जबाफ भने दर्शकहरुले पाउन सकेका छैनन् ।
पछिल्लो समय नेपाली निर्माताहरु पुरानो अनुहार लिएर जोखिम मोल्नु भन्दा नयाँ अनुहारतर्फ आकर्षित भएका कारणले पनि शिव श्रेष्ठ, राजेश हमाल, भुवन केसी, धिरेन शाक्य लगायतका धेरै पुराना कलाकारहरुको सक्रियता नेपाली चलचित्रमा कम नै देखिन्छ ।