वि.सं. २०१० सालमा प्यूठानमा भएको किसान आन्दोलनलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘फाल्गुन २४’ को राजधानीमा गत सोमबार विशेष शो गरिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका नेता मोहनविक्रम सिंहद्वारा लिखित राजधानीको विश्वज्योती हलमा विशेष शो गरिएको हो । रक्तिम सांस्कृतिक अभियान काठमाडौंले आयोजना गरेको विशेष शोमा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी लगायतका नेता तथा बुद्धिजिवीको उपस्थिति थियो ।
फिल्मका निर्देशक हेमराज आश्रमका अनुसार यो फिल्म सिंहद्वारा लिखित ‘फाल्गुन २४–विजयको विहान’ नाटकमा आधारित छ । रक्तिम सांस्कृतिक अभियान काठमाडौ महानगरपालिका समितिको पहलमा निर्माण भएको फिल्मले २०१० सालमा प्यूठानमा भएको किसान आन्दोलनलाई प्रस्तुत गरेको छ । निर्देशक आश्रमले फिल्मको उद्देश्य सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउनु रहेको बताए । फिल्म हेरेपछि नेता केसीले वर्ग संघर्षमा आधारित रहेर बनेको फिल्म आफुले पहिलोपटक हेरेको जनाउँदै फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य अनिल किशोरले फिल्मलाई देशव्यापी रुपमा प्रदर्शन गरेपछि मात्र व्यावसायिक किसिमले प्रदर्शनमा ल्याइने बताए । फिल्ममा निर्देशक आश्रमसँगै नारायण योगी, रेम राना, विष्णु शर्मा, शुप्रभा थापा, प्रतिभा शर्मालगायतको अभिनय छ ।