बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रको चर्चा यति बेला चिया पसलदेखी सामाजिक सञ्चालहरुमा व्यापक छ । कारण एउटै हो, बीबीसी नेपाली सेवाबाट राजिनामा दिएर नयाँ राजनीतिक दल घोषणा गर्न लागेका कारण उनको चर्चाले यति बेला नेपाली बजार राम्रै गर्माएको छ । मंगलबार एक विज्ञप्ती निकाल्दै रविन्द्रले बीबीसी नेपाली सेवाबाट राजिनामा दिएर नयाँ पार्टी खोल्न लागेको जानकारी दिएका थिए । योसँगै अहिले उनको पार्टीमा को को आबद्ध हुँदैछन् भन्ने बहस पनि उतिक्कै चलेको छ । खबरका अनुसार, अहिले रविन्द्र आफ्नो पार्टीमा नेपाली चलचित्रका महानायक राजेश हमाललाई पनि आबद्ध गराउने दौडमा लागेको स्रोत बताउँछ । पूर्वसचिव किशोर थापा, पत्रकार अजयभद्र खनाल, चिकित्सक सरोज धिताल, इन्जिनियर सुर्यराज आचार्य, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादवले रविन्द्र मिश्रलाई साथ दिइसकेको अबस्थामा रविन्द्रले हमालललाई पनि आफ्नो पार्टीमा भित्राउनका लागि विभिन्न चरणमा वार्ता गरिरहेका छन् । हुनत, यसअघि हमालले चाँडै नै आफु राजनीतिमा आउने संकेत दिइसकेका छन् तर कुन पार्टीमा उनी जाँदैछन् त्यो भने बाहिर आएको छैन । चाँडै आफ्नो निर्माण र निर्देशनमा नयाँ चलचित्र तयार गर्न लागेका हमाल रविन्द्र मिश्रको नयाँ पार्टीमा आबद्ध भएर राजनीतिमा होमिन्छन् वा होमिदैनन् यसको भने प्रतिक्षा गर्नुको विकल्प अरु छैन । २५ बर्षदेखी नेपाली चलचित्रमा अनवरत रुपमा लागिरहेका हमालले झण्डै २ सय बढी सिनेमामा आफ्नो दमदार अभिनय प्रस्तुत गरिसकेका छन् ।