गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट म्यूजिकल लभस्टोरी चलचित्र ‘प्रेम गीत’ को चर्चा अहिले पनि नेपाली सिनेवृतमा हुने गर्छ । गीत, संगीतले एउटा छुट्टै हाइप बनाएको ‘प्रेम गीत’ को अहिले सिक्वेल निर्माण हुँदैछ । झन्डै महिना लामो थाइल्यान्ड र म्यानमार छायांकनपछि अहिले ‘प्रेम गीत २’ को क्लाईमेक्स सीन काठमाडौंमा नै भव्य सेट बनाएर खिच्न तयारी भइरहेको छ । तर, यसका लागि चलचित्रका नायक प्रदीप खड्का उर्फ ‘प्रेम’ ले दुई महिनासम्म मुयाथाई भनिने थाइल्यान्डको किक बक्सिङ सिक्नु पर्ने भएको छ । अहिले प्रदीप यसैका लागि दशरथ रंगशालाको कभर्ड हलमा व्यायामकार्यशालामा किक बक्सिङ सिकिरहेका छन् ।
कार्यशालामा अभिनेता प्रदीप खड्का र निर्माता सन्तोष सेन सहभागि छन् । द्धन्द्ध निर्देशक अष्ट महर्जनले प्रशिक्षण दिइरहेका छन् ।
‘केही साता आधारभूत कला सिकाउनुपर्ने भएकाले कार्यशाला लम्बिएको हो’ द्धन्द्ध निर्देशक महर्जनले भने, ‘नेपाली फिल्ममा नयाँ टाइपको मार्सल आर्ट्स समावेश गर्न मुयाथाई रोजेका हौं ।’ थाइल्यान्डको मार्सल आर्ट्स मुयाथाईमा कुहिनो र घुँडाको प्रयोग बढी हुन्छ । कथाले बैंकक मागेपनि छायांकन भने राष्ट्रिय खेलकुद परिषदमै अन्डरग्राउन्ड सेट लगाएर गरिने भएको छ । दुईमहिना सुटिङ पोस्टपोन्ड भएपनि बाँकी खिच्नुपर्ने अवधि भने एकसाता मात्र छ । प्रदीपले किक बक्सिङ सिकिरहेको र कसिलो बनेको आफ्नो शरीरको केही तश्वीरहरु इन्स्टाग्राममा पोष्ट गरेका छन् । तश्वीरमा उनको कसिलो ज्यानबाट के स्पष्ट हुन्छ भने प्रदीपले ‘प्रेम गीत २’ का लागि राम्रै दुख गरेका छन् । नेपाल, म्यानमार र म्यानमारको अन्तरदेशिय प्रेमकथा समावेश गरिएको सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रदीपसँग अश्लेषा ठकुरीले अनस्क्रिन रोमान्स गर्दैछिन् । चलचित्रको रिलिजलक्ष्य आगामी साउन राखिएको छ ।