हाल छायांकनरत चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’ को रिलिज डेट हेरफेर भएको छ । हेमराज बिसिको निर्देशनमा तयार भइरहेको यो चलचित्र यसअघि अर्को बर्ष २०७४ को भदौ २३ मा रिलिज हुने फाइनल भएको थियो तर हालै निर्माणपक्षले दिएको जानकारी अनुसार अब यो चलचित्र अर्को बर्षको भदौको २ गते रिलिज हुने पक्का भएको छ ।
चलचित्र छायांकनको क्रममा नेपालगंजमा रहेका निर्माता सरोज न्यौपानेले चलचित्रको रिलिज अघि सरेको पुष्टि गरेका छन् । उनले अनमोल केसी स्टारर चलचित्र ‘कृ’ को रिलिज फेरबदल हुनु नै ‘ग्याङ्गस्टर ब्लूज’ को रिलिज डेट सर्नुको कारण रहेको बताए ।
‘दुबै चलचित्र युवापुस्ता लक्षित हो, यसअघि दशैमा ‘कृ’ आउने भन्दैगर्दा हामीले भदौ २३ तोक्यौं, अब ‘कृ’ भदौ ९ मा आउने भएपछि त्यसको एकहप्ता पहिले नै ‘ग्याङ्गस्टर ब्लूज’ ल्याउने निर्णयमा पुगेका हौ’, न्यौपानेले भने ।
चलचित्र राम्रो बन्दैगर्दा हलमा होल्ड ओभर कायम हुनसक्छ, दर्शकको मनोभावना जित्न नसक्दा दोश्रो हप्ताबाट ‘कृ’ ले शो मा ओभरल्याप गर्नसक्छ । दुबै चलचित्र मल्टिप्लेक्स केन्द्रित भएका कारण डिसिएन वितरक रहेको ‘ग्याङ्गस्टर ब्लूज’ ले मल्टिप्लेक्सका शो केहि होल्ड गर्ने दाबी निर्माण टिमको छ ।
पछिल्लो समयका चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटाले संगीत दिएको चलचित्रको अहिलेसम्म करिब ४० प्रतिशत छायांकन सकिएको बताईएको छ । मनिष पण्डित कार्यकारी निर्माता रहेको चलचित्रमा ‘जेरी’ डेब्यू गर्ल आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाहि ठकुरी लगायतका कलाकारहरुको अभिनय रहनेछ । बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा चलचित्र खिचिनेछ । निर्माण अगावै उपत्यका बाहिरको प्रदर्शनका लागि डिसिएनले यो चलचित्र ४५ लाख एमजीमा किनिसकेको छ ।