अहिले नेपालगञ्जमा चलचित्र ‘राज्जा रानी’ को छायाँकन भइरहेको छ । नायिका केकी अधिकारी रानी र नायक नाजिर हुसेन राज्जाको भूमिकामा प्रस्तुत हुने यो चलचित्रलाई यम थापाले निर्देशन गरिरहेका छन् । निर्माण घोषणा कार्यक्रममा आयोजकले यो जानकारी दिएको थियो कि चलचित्रमा नेपालका एक चर्चित कलाकारको समेत मुख्य भूमिका रहनेछ । तर, को हुनेछ त्यसको आधिकारीक जानकारी भने दिएको थिएन । यतिसम्मकी निर्माणपक्षले चलचित्रको निर्माण घोषणा कार्यक्रममा नायिका रेखा थापा र नायक भुवन केकीलाई अतिथीको रुपमा निम्त्यिाएको थियो । यसबाट के स्पष्ट हुन्थ्यो भने चलचित्रमा रेखा वा भुवन मध्ये एकको मुख्य भूमिका रहनेछ । तर, हालैमा प्राप्त जानकारी अनुसार अहिले नायिका रेखा थापाले चलचित्र ‘राज्जा रानी’ का लागि आफ्नो सट दिइरहेकी छिन् । हाल यसै चलचित्रका लागि नायिका रेखा थापा नेपालगञ्जमा छिन् । प्राय आफ्नै ब्यानरबाट निर्माण हुने चलचित्रमा काम गर्ने रेखाले यस बर्षमात्र बाहिरी ब्यानरका तीन चलचित्रहरु ‘पलाँस’, ‘हिरो रिटन्र्स’ र ‘डायरी’ मा काम गरिसकेकी छिन् । चलचित्र ‘राज्जा रानी’ मा रेखाको भूमिका कस्तो छ त्यो हेर्न भने चलचित्रको टीजर वा ट्रेलर सार्वजनिक भएपछि मात्र थाहा हुनेछ । रेखाले आफ्नो फेसबुक र इन्स्टाग्राममा आफु नेपालगञ्जमा रहेको भन्दै स्टाटससहितको फोटोहरु पोष्ट गरेकी छिन् भने चलचित्र ‘राज्जा रानी’ का नायक नाजिर हुसेनले चलचित्रको निर्माण घोषणाको क्रममा रेखा थापासँग खिचेको एक तश्वीरमा क्याप्सन लेख्दै ‘लेट पोष्ट’ भन्दै शेयर गरेका छन् । निर्माणपक्षले चलचित्रमा रेखा छिन् वा छैनन् जानकारी नदिएपनि रेखा र नाजिरको फेसबुक र इन्स्टाग्रामको पोष्टले भने रेखाको ‘राज्जा रानी’ मा मुख्य भूमिका रहेको स्पष्ट थाहा हुन्छ ।
यो चलचित्रमा नाजिर, केकी र रेखाका अलवा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्रमा तारा प्रकाश लिम्बु र दीपक शर्माको संगीत, राजेन्द्र थापा र यम थापाको गीत, सहिमा श्रेष्ठ, सुमिना तामांग लामा र नरहरी प्रेमीको स्वर, पुरुषोत्तम प्रधानको छायाँकन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । आर्यन फिल्मस् प्रोडक्शनको ब्यानरमा बन्ने यो चलचित्रलाई रमेश एम.के. पौडेलले निर्माण गर्न लागेका हुन ।