नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा यति बेला विश्वभर चर्चामा छिन् । माघ १९ गतेदेखि २३ गतेसम्म भारतको मुम्बईमा सञ्चालन भएको ‘ल्याक्मे फेसन विक— २०१७’ मा छनौट भएर पहिलो पटक तेस्रोलिङ्गीको रुपमा उनले यो फेसन शोमा क्याटवाक गरेकी थिइन । उनले ‘ल्याक्मे फेसन विक— २०१७’ मा क्याटवाक गर्ने खबरले केही दिन अगाडी भारतसँग हलीउड अनलाइनहरुमा समेत अञ्जलीको चर्चा भएको थियो । उनै अञ्जली लामा नेपाली चलचित्र ‘लाउरे’ मा अनुबन्धित भएकी छिन् । चलचित्रका निर्माता सुनिल रावलले अञ्जलीसँग भिडियोमार्फत अडिसन लिएको र महँगो पारिश्रमिकमा उनलाई चलचित्र ‘लाउरे’ मा अनुबन्धित गरेको बताएका छन् । चलचित्रमा अञ्जलीको मुख्य भूमिका रहनेछ । निर्माता रावलका अनुसार, यही चलचित्रका लागि अञ्जली अप्रिल २४ तारिखमा नेपाल आउँदैछिन् । नेपाल आएपछि अञ्जलीले चलचित्र ‘लाउरे’ को वर्कशपमा केही दिन विताउनेछिन् र त्यसपछि छायाँकनमा व्यस्त हुनेछिन् । चैत २५ गतेबाट छायाँकन सुरु हुने तयारीमा रहेको निर्माणपक्ष अञ्जली लामाका कारण चलचित्रको छायाँकन अप्रिल २८/२९ बाट सुरु हुने बताइएको छ । निगम श्रेष्ठले निर्देशन गर्ने ‘लाउरे’ मा नरेन लिम्बु, सृष्टि श्रेष्ठ, बिक्रम सिंह फाइनल भइसकेका छन् ।
को हुन अञ्जली लामा ?
नुवाकोटको काउले गाउँमा नवीनकुमार वाइबाको जीवनको दुई दशक विताएकी उनलाई अहिले विश्वले नै अञ्जली लामा नामले चिन्ने गर्छ । एलसी पास भएर काठमाडौंको त्रिचन्द्र कलेज पढ्न आएपछि उनको रूपान्तरण नवीनबाट अञ्जली लामाका रूपमा भयो ।
नामले केटा भएपनि उनी सानैदेखी आफु केटी जस्तो भएको महशुस गर्थिन । उनलाई सानैदेखी बहिनीले लगाउने लुगा, शरिरमा तावेल बेर्न मन लाग्थ्यो । जब उनी अध्ययनको शिलशिलामा काठमाडौं आइन अनि उनको जीवनको दोस्रो अध्याय सुरु भयो । ‘सेक्स चेन्ज अपरेशन’ पछि उनले आफुलाई अञ्जली लामाको रुपमा चनाउन थालिन ।
केही समय अगाडी उनको जीवनमा आधारित भएर निर्माण भएको सर्ट फिल्म ‘अञ्जली’ को प्रिमियरमा उनले भनेकी थिइन, ‘मैले आफू को हुँ भन्ने पत्ता लाउन दुई दशक कुर्नुपर्यो । जब मैले फरक लिंगीय व्यवहार गर्नेहरूको पनि संस्था छ भन्ने थाहा पाएँ त्यसपछि म आफैं ब्लु डाइमन्ड सोसाइटीको अफिस खोज्दै हिँडे । मैले त्यो अफिस र त्यसले गर्ने अभियान मात्रै पत्ता लगाइन सबभन्दा ठूलो कुरा त म को हुँ भन्ने प्रश्नको उत्तर पाएँ । त्यसपछि मैले आफ्नो नाम बदलें ।’
नाम बदल्नु मात्रै उनको सम्पूर्ण पहिचानको प्राप्ति थिएन । त्यसपछि जब उनी अञ्जलीको पहिचानमा घर पुगिन्, चार दाजुभाइमध्ये तीन जना पूरै विरोधमा उभिए । आमा बितिसकेकी थिइन्, बुबा र काकाहरू पनि एकदमै रिसाए । उक्त फिल्म ‘अञ्जली’ मा उनका बुबाले भनेका छन्, ‘छोरी भएपछि अब अंश खोज्न पनि आउनु पर्दैन र म मरे भनेपनि हेर्न आउनु पर्दैन ।’ परिवारको साथ नभएपनि उनले आफ्नो जीवनदेखी भने कहिले हरेस खाइनन् । अञ्जलीले आफ्नो नाम मात्रै बदलिनन्, अञ्जलीकै नामबाट उनी तेस्रोलिंगी मोडलका रूपमा स्थापित भइन्, सहरका स्टेजहरूमा तेस्रोलिंगीको पहिचानसहित क्याटवाक गरिन् ।