सुपरहिट नेपाली चलचित्रका बादशाह नायक भूवन केसी केही बर्षदेखी ठूलो पर्दामा देखिएका छैनन् । सम्भवतः उनले तीन बर्षदेखी कुनै चलचित्रमा काम गरेका छैनन् । तर, गएको बर्ष उनले निर्देशन र निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ प्रदर्शनमा आएको थियो । छोरा अनमोल केसी नेपाली चलचित्रमा सक्रिय रहँदा भूवन केसी भने अहिले अभिनयबाट टाढा बसेको देख्न सकिन्छ । तर, अब चाँडै नै भूवन केसी अभिनित नयाँ चलचित्र दर्शकहरुले हेर्न पाउने भएका छन् । क्याट भिजन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण भएको भूवन केसी स्टारर चलचित्र ‘ब्ल्याक डायरी’ बैशाख २२ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको चलचित्र ‘ब्ल्याक डायरी’ मा बाइक स्टन्ट राखिएको चलचित्रका निर्माता अनोज अधिकारीले बताए ।
चलचित्रका निर्देशक सुजन घिमिरे हुन् । चलचित्रमा भुवनका अलवा शुभेच्छा थापा, बालदीप राई, पवन कार्की, निकिता शाही, आदीको अभिनय रहेको छ । शेर बहादुर लामाको छायांकन रहेको ब्ल्याक डायरीमा राजु शाहको नृत्य निर्देशन एवं शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । ‘ब्ल्याक डायरी’ मा रमेश सिंह ठकुरी र पुजा भट्ट नव-कलाकारको रुपमा छन् । तीन बर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेका भूवनलाई चलचित्र ‘ब्ल्याक डायरी’ ले कतिको सफलता दिलाउला त्यो कुर्न भने बैशाख २२ गतेकै प्रतिक्षा गर्नुको अरु विकल्प छैन ।