चलचित्र ‘छड्के’ मा एकसाथ काम गरेका अहिलेका सर्वाधिक चर्चित नायक सौगात मल्ल र नायिका नम्रता श्रेष्ठले पुनः एक चलचित्रमा स्क्रिन शेयर गर्ने भएका छन् । ‘छड्के’ पछि निकै मिल्ने साथी समेत बनेका नम्रता र सौगातले चलचित्र ‘रुट नं. २३’ मा एकसाथ काम गर्ने लगभग पक्का भइसकेको स्रोतले बताएको छ । यो चलचित्र बैशाख दोश्रो साताबाट फ्लोरमा जाँदैछ ।
रंग पत्रकार तथा निर्देशक समीर बलामीले निर्देशन गर्ने चलचित्रमा सौगात र नम्रताका अलवा बुद्धि तामाङ, मेनुका प्रधान, सुधिर श्रेष्ठ लगायतको अभिनय रहने बताइएको छ ।
सेतका अनुसार, चलचित्रमा अर्पण थापाको पनि मुख्य भूमिका रहनेछ । चलचित्रका निर्माताहरुमा अष्ट्रेलियाबाट विकास श्रेष्ठ, युकेका दिपेन्द्र शाक्य रहेका छन् । चलचित्रका कार्यकारी निर्माता राजेन्द्र प्रसाद त्रिपाठी हुन् । यस अघि यो चलचित्र फाल्गुनमा फ्लोरमा जाने बताईएको थियो । चलचित्रका लागि कलाकारहरु फाइनल हुन समय लागेका कारण चलचित्रको छायांकन सारिएको निर्माण पक्षको भनाई छ । काठमाडौं, पोखरा र हिमाली भेगमा छायांकन गरिने चलचित्रको चैतको दोस्रो साताबाट वर्कशप सुरु हुनेछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रमा अर्जुन कुमार पोखरेलको संगीत रहनेछ भने चन्द्र पन्त चलचित्रको द्धन्द निर्देशकको रुपमा रहने भएको छ ।