प्रियंका कार्की, आयुष्मान देसराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहने चलचित्र ‘कथा काठमाण्डु’ को सोमबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । ३ फरक कथामा बन्ने यो चलचित्रलाई लामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठले निर्देशन गर्न लागेकी हुन । यसअघि उनले म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसककी छिन् ।
चलचित्रको निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले भनिन्–‘चलचित्रमा ३ फरक–फरक कथालाई जोडेर एउटा चलचित्र निर्माण गरिनेछ । सम्भवतः नेपाली चलचित्रमा यस्तो यसअघि कुनै पनि चलचित्रमा भएको छैन । ३ फरक–फरक चलचित्र भित्रका कथालाई मिलाएर चलचित्र निर्माण हुनेछ ।’ संगीताले ३ फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन हुने पनि जानकारी दिइन् ।’ उनले ती पात्रको कनेक्शन कस्तो हुनेछ भनेर खुलाउन चाहिनन् । उनका अनुसार, यो लभ स्टोरी चलचित्र हो ।
यस्तै, चलचित्रको बिषयमा बोल्दै नायिका प्रियंका कार्कीले भनिन्–‘एउटा चुनौतीपूर्ण भूमिका निर्वाहा गर्दैछु ।’ चलचित्र ‘चपली हाइट २’बाट उदाएका नायक आयुष्मान देसराज जोशीले राम्रो कथामा आफू जहिले पनि उत्साहित हुने भन्दै चलचित्र खेल्नका लागि १० लाख पारिश्रमिक मागेको कुरालाई हल्ला मात्र भनेका छन् ।
आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन वुधबारबाट सुरु हुनेछ । विजय राइको लगानी रहने यो चलचित्रको प्रोडक्शन डिजाइनर वुद्धिलाल मगर छन् । यस्तै, चलचित्रमा लुजाओ विन्ङको छायांकन रहनेछ । निर्देशक श्रेष्ठका अनुसार, चलचित्रको छायांकन विभिन्न सिफ्टमा गरिनेछ । काठमाण्डौ भित्र घट्ने विभिन्न पात्रका घटनालाई ३ फरक परिवेशमा देखाइनेछ ।