नेपाल चलचित्र कलाकार संघले आफ्नो १ बर्षे प्रगती विवरण सार्वजनिक गर्दै सोमबार राजधानीमा एक कार्यक्रमका बीच १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघका अध्यक्ष रामकेशर बोगटीले आफ्नो मन्तव्य राख्ने क्रममा नेपाल चलचित्र कलाकार संघको भवन निर्माण गरेरै छाड्ने वचनबद्धता दोहोर्याए । उनले भवन निर्माणका लागि भवन निर्माण कोष र सहयोगीहरुबाट वचनबद्ध भएको रकम सहित गरी २० लाख तयारी अबस्थामा रहेको पनि बताए । १५ औं बार्षिक साधारण सभाको अवसरमा कलाकार संघले चलचित्रकर्मी र सञ्चारकर्मीहरुलाई पुरस्कृत र सम्मान पनि गरेको छ । संघले अभिनेत्री लक्ष्मी गिरीलाई पुरस्कार र अभिनेता पुरन जोशीलाई चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कारबाट पुरस्कृत गरेको छ भने हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), कान्छा निर्देशक सौगात विष्टलाई विशेष सम्मानबाट सम्मानित गर्यो । त्यस्तै, सञ्चारकर्मी प्रकाश सुवेदी, अशोक प्यासी राई र विष्णु सुवेदी पत्राकारिता सम्मानबाट सम्मानित हुँदा अभिनेत्री बर्षा राउत नव-प्रतिभा प्रोत्साहन सम्मानबाट सम्मानित भईन् । सोही क्रममा संघले कलाकार संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह-कोषाध्यक्ष सुनिल कटुवाललाई सेवा सम्मानबाट सम्मानित गरेको छ । कलाकार संघको अध्यक्षमा बोगटी निर्वाचित भएपछि यो पहिलो साधारण सभा हो ।