एक्सन नायक निखिल उप्रेतीको यस बर्ष दुई चलचित्र हलमा लाग्ने भएका छन् । गएको पुष २८ गते चलचित्र ‘किंग’ रिलिज भएको थियो भने चैत ११ गते ‘निर्भय’ रिलिज हुँदैछ । ‘निर्भय’ रिलिजको लगभग २० दिनपछि अर्थात बर्ष २०७४ को पहिलो दिन नै अर्को नयाँ चलचित्र ‘राधे’ हलमा लाग्ने तयारीमा छ । निखिलको चलचित्र ‘किंग’ यस बर्षको पहिलो रिलिज बनेको थियो तर यो चलचित्र सुखद व्यापार नगरेपछि अहिले निखिलको नजर चैत ११ गतेबाट हलमा लाग्न लागेको ‘निर्भय’ र नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात बैशाख १ गते रिलिज हुन लागेको ‘राधे’ माथी छ । यी दुई चलचित्रले व्यापारिक हिसाबले तहल्का पिटे निखिलका लागि पनि धेरै राहत पुग्ने देखिन्छ । ‘किंग’ले निराश भएका दर्शकहरु फकाउन पनि ‘निर्भय’ र ‘राधे’ले महत्वपूर्ण भूमिका खेल्नमा निखिल पूर्ण रुपमा विश्वस्त छन् ।
आज हामी कुरा गर्दैछौं निखिलको नयाँ बर्षको दिन रिलिज हुन लागेको चलचित्र ‘राधे’ को । यो चलचित्रको गीत, टीजर र ट्रेलर सार्वजनिक भइसकेको छ । रिलिज मिति नजिँकदै गर्दा यति बेला निर्माणपक्षले चलचित्रको पव्लिसिटीलाई पनि आक्रामक बनाउँदै गएको छ । यो चलचित्रमा निखिलले नायिकाद्धय प्रियंका कार्की र अशिष्मा नकर्मीसँग स्क्रिन शेयर गरेका छन् ।ट्रेलरमा निखिलको जोडी कोसँग बाँधिएको छ त्यो भने स्पष्ट पारिएको छैन । तर, ‘राधे’ को छायाँकनको बखत नायिका प्रियंका कार्कीले आफ्नो फेसबुकमार्फत निखिलसँग विवाह गरेको एक तश्वीर शेयर गरेकी थिइन । यसबाट पक्का के हुन्छ भने ‘राधे’ मा निखिलसँग प्रियंकाको जोडी बाँधिएको छ ।
जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राधे’ मा निखिल, प्रियंका र अशिष्माका अलवा शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ । त्यस्तै, चलचित्रमा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् ।