नायिका रेखा थापा सकेसम्म बाहिरी ब्यानरका चलचित्रमा काम गर्दिनन् । आफ्नै होम प्रोडक्शनबाट निर्माण हुने चलचित्रमा मात्र फोकश रहने रेखाले यस बर्ष तीन बाहिरी ब्यानरका चलचित्रमा काम गरिन् । ति हुन ‘पलाँस’, ‘डायरी’ र ‘हिरो रिटन्र्स’ । यी तीनै चलचित्र अब रिलिजको तयारीमा रहेका छन् । ‘डायरी’ अर्को बर्षको जेठमा रिलिज हुँदैछ भने ‘हिरो रिटन्र्स’ को हालसम्म रिलिज मिति फाइनल गरिएको छैन तर यस बर्षका लागि नायिका थापाको पहिलो चलचित्र ‘पलाँस’ यही चैत १८ गतेबाट हलमा लाग्दैछ । यो चलचित्रको टीजर, ट्रेलर र एक गीत पनि सार्वजनिक भइसकेको छ । अहिले यो चलचित्रको ‘तिमी साथमा हुँदा नी’ बोलको गीतले बजार पिटिरहेको छ भने सार्वजनिक चलचित्रको ट्रेलरले दर्शकहरुमा उत्सुकता थपेको छ । कारण, चलचित्रको ट्रेलरमा रेखाको दुई अवतार देख्न सकिन्छ । एउटा पाटोमा उनी शिक्षिका बनेको देख्न सकिन्छ त अर्को पाटोमा यौनकर्मी ।
रेखाको अनुसार, चलचित्र पलाँसको कथा शसक्त छ । विशेषत नारी प्रधान चलचित्रमा काम गर्न रुचाउने रेखाले ‘पलाँस’ मा पनि त्यसलाई निरन्तरता दिएको ट्रेलरमा पनि देख्न सकिन्छ । चलचित्रमा रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् । चलचित्रलाई कृषा चौलागाईले निर्माण गरेकी हुन भने सुवास कोइरालाले निर्देशन गरेका हुन । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन, अर्जुन पोख्रेलको संगीत छ ।