पहिलो पटक अनमोल केसी स्टारर मूभी ‘गाजलु’ मा मुख्य भूमिका निर्वाह गरेपछि एकाएक चर्चामा आएकी पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ अहिले दोस्रो चलचित्र ‘रोमियो एण्ड मुना’ को छायाँकनमा व्यस्त छिन् । गाजलु रिलिजको झण्डै ६ महिनापछि दोस्रो चलचित्र ‘रोमियो एण्ड मुना’ मा काम गरेकी श्रृष्टीको जोडी यो चलचित्रमा विनय श्रेष्ठसँग बाँधिएको छ ।
अनमोल केसी स्टारर मूभी ‘कृ’ सँग अर्को बर्षको भदौ ९ गतेबाट हलमा लाग्न लागेको यो चलचित्रमा श्रृष्टीले ‘मुना’ को भूमिका निर्वाह गरेकी छिन् भने विनयले ‘रोमियो’ को । चलचित्रको पूरा कथा नै विनय र श्रृष्टीको प्रेममा घुमेको छ ।
हालैमा चलचित्रका नायक तथा निर्माता विनय श्रेष्ठले चलचित्र ‘रोमियो एण्ड मुना’ को सेटबाट आफ्नो र श्रृष्टीको केही तश्वीरहरु फेसबुकमा शेयर गरेका छन् । तश्वीरमा हेर्दा लाग्छ चलचित्र ‘रोमियो एण्ड मुना’ मा विनय र श्रष्टी एक गाउँका रोमियो र मुना हुन किनकी उनीहरुको ड्रेसअप र हाउभाउले यस्तै भन्छ । त्यस्तै, श्रृष्टीले पनि आफ्नो फेसबुक र इन्स्टाग्राममा एक तश्वीर शेयर गरेकी छिन्, जुन तश्वीर ‘रोमियो एण्ड मुना’ को सेटमा खिचिएको हो । उक्त तश्वीरमा उनी साधारण एक गाउँले यूवतीको भेषमा देख्न सकिन्छ । यो चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरिरहेका छन् ।