अर्को बर्ष अर्थात बैशाख १ गते तीन नेपाली चलचित्र एकसाथ हलमा लाग्ने पक्का भइसकेको छ । तीन पुस्ताका कलाकारहरुको भिडन्त हुन लागेको बैशाख १ गते निखिल उप्रेतीको ‘राधे, सुरज पाण्डे र स्वस्तिमा खड्का (बस्नेत) को ‘लभ लभ लभ’ र दयाहाङ राई र केकी अधिकारी अभिनित चलचित्र ‘घामपानी’ एकसाथ हलमा लाग्दैछन् । एकसाथ एकै मितिमा तीन चलचित्र हलमा लाग्ने भएका कारण अहिलेदेखी नै यी तीनै चलचित्रले आफ्नो प्रचारलाई आक्रामक बनाउँदै गएका छन् । यी तीन चलचित्रका गीतदेखी ट्रेलर दर्शकहरुले हेरिसकेका छन् ।
चलचित्र ‘घामपानी’ र ‘राधे’ मा परिचित अनुहार नै लीड कलाकार भएपनि बैशाख १ गते रिलिज हुन लागेको अर्को चलचित्र ‘लभ लभ लभ’ मा भने दुई नयाँ कलाकारको अभिनय छ । यसअघि चलचित्र ‘होस्टेल रिटन्र्स’मा काम गरेकी स्वस्तिमा खड्का र यही चलचित्रबाट डेब्यू गरेका सुरज पाण्डेलाई स्टारकाष्ट भएका अन्य दुई चलचित्रसँग लड्नु आफैमा चुनौती छ तर ‘पशुपति प्रसाद’ निर्देशन गरेका दीपेन्द्र के. खनाल यो चलचित्रका निर्देशक भएका कारण ‘लभ लभ लभ’ ले पनि दर्शकहरु आफ्नो पक्षमा तान्नेमा शंका छैन ।
पहिलो पटक लभस्टोरी चलचित्र निर्देशन गरेका दीपेन्द्र के. खनालले ‘लभ लभ लभ’ मा सुरज पाण्डेलाई नायिका स्वस्तिमा खड्काको पछाडि दौडाएका छन्, जुन सार्वजनिक ट्रेलरमा पनि देख्न सकिन्छ ।
अमृत पाण्डे र शर्मिला पाण्डेको लगानीमा ‘लभ लभ लभ’ तयार भएको हो । चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा सकिएको हो । चलचित्रका सबै गीतमा सुरेश राईको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । चलचित्रलाई निरज कँडेलले खिचेका हुन । यो चलचित्रमा स्वस्तिमा र सुरजका अलवा देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरु छन् ।