नायक नाजिर हुसेनले नायिका केकी अधिकारीलाई ‘रानी’ बनाएपछि ३८ दिन लामो चलचित्र ‘राज्जा रानी’ को छायाँकन सकिएको छ । नेपालगन्जमा चलचित्रका सम्पूर्ण दृश्य क्यामेरामा कैद गरेपछि चलचित्रको जम्बो टिम नै काठमाडौं फर्किसकेको छ । नायिका केकी अधिकारी ‘राज्जा रानी’ को छायांकन सकेर आफु अभिनित चलचित्र ‘लभ साशा’ को प्रिमियरका लागि अष्ट्रेलिया समेत उडिसकेकी छिन् ।
नाजिर हुसेन ‘राज्जा’ र केकी अधिकारी ‘रानी’ को भूमिकामा देखिन लागेको यो चलचित्रमा नायिका रेखा थापाको विशेष भूमिका छ । अहिलेसम्म निर्माणपक्षले चलचित्रमा रेखाको भूमिकाको विषयमा भने कुनै जानकारी दिएको छैन । केही दिन अगाडी ‘सिने खबर डटकम’ ले ‘चलचित्र ‘राज्जा रानी’ मा रेखाको ईन्ट्री’ भन्दै एक समाचार प्रकाशन गरेको थियो ।
तराई पृष्ठभूमिको कथा बोकेको चलचित्र ‘राज्जा रानी’ प्रेमकथाले भरिपूर्ण रहेको चलचित्रका निर्देशक यम थापाले जानकारी दिएका छन् । यम थापाको यो डेब्यू निर्देशन हो । यसअघि यमले ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ लगायतका स्क्रिप्ट लेखिसकेका छन् । यो चलचित्रको पटकथा पनि उनकै हो ।
चलचित्रमा नाजिर, केकी र रेखाका अलवा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय छ । रमेश एम.के. पौडेलले निर्माण गरेको यो चलचित्रमा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र कविराज गहतराजको नृत्य निर्देशन छ ।