गएको फागुन २७ गतेबाट नेपालमा सार्वजनिक प्रदर्शन आरम्भ गरेको भेट्रान निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ २’ ले अब विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । अहिलेपनि देशभरका करिब आधा दर्जन बढी सिनेमा घरहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘दर्पण छायाँ २’ को केहि हप्ता भित्रबाटै विदेश प्रदर्शन सुरु हुन लागेको हो । नेपाल प्रदर्शनपछि अमेरिका प्रस्थान गरेकी निर्मात्री सवु गडाल कार्कीले अप्रिल महिनाबाट अमेरिकाका विभिन्न शहरमा ‘दर्पण छायाँ २’ प्रदर्शन हुन लागेको जानकारी दिएकी छन् । चलचित्रको अप्रिलमा हुने अमेरिका प्रदर्शनपछि यूरोप प्रदर्शन सुरु हुनेछ । यूरोपका बेल्जियम, हल्याण्ड (नेदरल्याण्ड), जर्मनी, स्पेन, डेनमार्कसँगै लण्डनका विभिन्न शहरमा समेत चलचित्रको प्रदर्शन हुने जानकारी निर्माणपक्षले दिएको छ । यूरोपका विभिन्न देशमा हुने शोहरुमा निर्माण टिमका सदस्यसमेत उपस्थित हुने बताईएको छ भने अमेरिकामा हुने शोहरुमा निर्मात्री सबुसँगै अर्का निर्माता रबी कार्की र डेब्यू अभिनेत्री साहारा कार्की समेत उपस्थित हुनेछिन् । यो चलचित्रमा साहाराको कामको खुबै तारिफ भएको थियो । नेपालमा औसत व्यापार गरेको चलचित्र ‘दर्पण छायाँ २’ सन् २००१ मा रिलिज भएको सुपरहिट चलचित्र ‘दर्पण छायाँ’ को सिक्वेल हो । निर्मात्री सबुले चलचित्रको व्यापारिक पाटो भन्दा पनि दर्शकहरुबाट उत्कुष्ट प्रतिक्रिया प्राप्त भएकोमा खुशी महशुस गरेको बताइन् ।
सांगीतिक प्रेमकथा बोल्ने चलचित्रमा पुष्प खड्का, सहारा कार्की, श्रद्धा प्रसाईं, फिरोज तिमिल्सिना, जीवन, सेर बहादुर, सुमन लगायत लिड अभिनय छ ।