यो गुनासो प्राय अधिकांश चलचित्र निर्माण गर्ने निर्माताहरुको हुने गर्छ, चलचित्रमा काम गरेपछि प्रचार -प्रसारमा नै हिँड्दैनन् कलाकारहरु । एक लीड कलाकार चलचित्र रिलिजको बेला फुर्सद नभएको र मोबाइल नै अफ गरेर बसिदिँदा निर्मातालाई कस्तो बज्रपात हुँदो हो त्यो तपाईहरु पनि महशुस गर्न सक्नु हुन्छ । निर्माताले ठूलो विश्वास गरेर एक कलाकारमाथि लाखौं रुपैयाँ खर्च गरेको हुन्छ ताकी त्यसबाट केही प्रतिफल आओस् । तर, जब चलचित्र रिलिजको पूर्वसन्ध्यामा हुन्छ तब कलाकारहरु प्रचार-प्रसारमा नहिँड्न एउटा न एउटा बहाना बनाएर त्यसबाट टाढा रहन चाहन्छन् ।
यो अलि बढी स्टार कलाकारहरुको हकमा लागु हुन्छ, जसको एक झलक हेर्नका लागि पनि दर्शकहरु आतुर हुन्छन् । तर, उनै कलाकारहरु चलचित्रको पब्लिसिटीमा नदौडिदिँदा दर्शकहरुलाई हलमा कुन कलाकारको कुन चलचित्र लागेको छ भन्ने समेत थाहा हुँदैन । चलचित्रका कलाकार पब्लिसिटीमा दौडिँदा मिडियामा चौतर्फी हल्ला हुने गर्छ, जसले दर्शकहरु आफ्ना स्टारको चलचित्र हेर्न टिकट काटेर हल छिर्ने गर्छन ।
यसो भनिरहँदा नाम चलेकै कलाकारहरु पब्लिसिटीमा दिलोज्यान दिएर लागेपनि सुपरफल्प भएका उदारहणहरु पनि प्रशस्तै भेटिन्छन् । जसले के भन्छ भने कलाकारले पब्लिसिटीमा कति दुख गरेको छ होइन चलचित्र हिट हुन कथावस्तु र प्रस्तुती नै बलियो हुनु पर्छ । तर, सुरुवातमा दर्शकहरुलाई हलसम्म तान्ने माहोल बनाउनका लागि कलाकारहरु चलचित्रको प्रचार-प्रसारमा दौडिनु भने अत्ति नै आवश्यक हुन्छ ।
हालसालैको कुरा गर्ने हो भने यसबर्षको सुपरहिट चलचित्र ‘लुट २’ ले समेत कलाकारहरुको साथ नपाएको गुनासो निर्माण टिमबाटै आएको थियो । जसमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य लगायतका कलाकारहरुले ‘लुट २’ को प्रचारमा खासै वास्ता देखाएका थिएनन् ।
त्यस्तै, चलचित्र ‘शब्द’ को ट्रेलर लञ्च कार्यक्रम बाहेक नायक सौगात मल्लको मुख समेत देख्न पाएन निर्माण पक्षले । तर, जब चलचित्रको अष्ट्रेलिया रिलिजको बेला आयो तब उनी सबै काम छाडेर करिब पन्ध्र दिन उतै हराए । यसले के भन्छ भने कलाकारहरु स्वेदशमा चलचित्रको प्रचार गर्न समय छुट्याउन सक्दैनन् तर जब विदेश प्रदर्शनको कुरा आउँछ तब कसरी पन्ध्रदेखी एक महिनाको छुट्टी मिलाउँछन्, यसले सबैलाई अचम्ममा पार्ने गर्छ ।
चलचित्रको प्रचारमा समय नछुट्याउने आरोप नायक निखिल उप्रेतीले पनि खेप्दै आइरहेका छन् । अहिले एकपछि अर्को चलचित्रमा व्यस्त नायक निखिल उप्रेतीको यस बर्षको पुषमा ‘किंग’ रिलिज भएको थियो । यो चलचित्रको प्रचारमा पनि निखिलले फुर्सद नभएको बहाना बनाउँदै विभिन्न चलचित्रको छायांकनमा व्यस्त रहे । त्यस्तै, अहिले हलमा प्रदर्शन भइरहेको चलचित्र ‘निर्भय’ ले पनि निखिलको साथ सोचे जस्तो पाएन् । केही दिन चितवन र पोखरामा चलचित्रको पव्लिसिटी गरेपनि उनले काठमाडौंमा एकदिन पनि ‘निर्भय’ यस्तो छ भन्दै मिडियाको अगाडी आफ्नो विचार पोखेनन् । यसबाट निर्माणपक्ष रुष्ट हुँदै आएको थियो । यस्तै, बैशाख १ गते रिलिज हुन लागेको अर्को चलचित्र ‘राधे’ को त निखिलले अहिलेसम्म नाम पनि उच्चारण गरेका छैनन् । हालैमा ‘पिँजडा ब्याक अगेन’ को छायांकन सकाएका निखिलले ‘राधे’ को प्रचारमा भने समय छुट्याएको बुझ्नमा आएको छ । तर, चलचित्र रिलिज हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा निखिलको साथ ‘राधे’ ले कहिलेबाट पाउँला त्यसको प्रतिक्षा त स्वंय निर्माता पनि गरिरहेका छन् ।
नायक राजेश हमालको त कुरै नगरौं, उनलाई यो आरोप बर्षौदेखी लागिरहेको छ कि उनी आफु अभिनित चलचित्रको प्रचार-प्रसारमा नै हिँड्दैनन् । उनको यसबर्षको भदौमा ‘शकुन्तला’ रिलिज भएको थियो । चलचित्रको छायांकन एकदिन पनि मिस नगरेका हमालले जब ‘शकुन्तला’ रिलिजको संघारमा आयो तब उनी झण्डै एक महिनाका लागि अमेरिका हानिए र ‘शकुन्तला’ रिलिजपछि नेपाल फर्किए ।
यस्तै, हाल प्रदर्शन भइरहेको चलचित्र ‘लप्पन छप्पन’ ले पनि पब्लिसिटीमा खासै कलाकारहरुको साथ पाएन । जसलाई दर्शकहरुले चिन्थे र उनीहरुका लागि भनेरै हलसम्म जाने गर्थे अन्ततः निर्माणपक्षलाई नै पब्लिसिटीको बखत कलाकारहरुले लप्पन छप्पन गरे । दयाहाङ राई र सौगात मल्लले रिलिजको अन्तिम दिनसम्म पनि मिडियाको अगाडी ‘लप्पन छप्पन’ यस्तो र उस्तो चलचित्र भनेर तारिफ गरेको देखिएन ।
यही शुक्रबारबाट रिलिज हुन लागेको रेखा थापा स्टारर चलचित्र ‘पलाँस’ को पनि यस्तै हविगत छ । नायिका रेखा थापाले पब्लिसिटीमा राम्रै साथ दिएपनि अर्का मुख्य कलाकार कामेश्वर चौरसियाको त निर्माण पक्षले अनुहार समेत देख्न पाएको छैन । खबरका अनुसार, कामेश्वरले केही दिन अगाडी ‘पलाँस’ निर्मात्री कृषा चौलागाईसँग मिडियाको सूची मागेको थिए र उनले पत्रकार भुषण दाहाललाई मात्र अन्तर्वार्ता दिने भन्दै चलचित्रको पब्लिसिटीबाट हात झिकेको खबर यसअघि नै मिडियामा आइसकेको छ ।
नायकहरुमात्र होइन नायिकाहरु पनि चलचित्रको पब्लिसिटीबाट टाढा रहँदै आएको गुनासो बेला बखतमा निर्माताहरुको मुखबाट सुन्ने गरिन्छ । नीता ढुंगाना, केकी अधिकारी, प्रियंका कार्की, बर्षा सिवाकोटी लगायतका अहिलेका व्यस्त नायिकाहरुले पनि चलचित्र रिलिजको संघारमा पब्लिसिटीबाट हात झिक्ने गरेको खबरहरु यसअघि नै बाहिर आइसकेका छन् । नायिका नीता ढुंगानाले चलचित्र ‘लेकसाइड’ रिलिजको बखत निर्देशक र निर्माताको फोन नै नउठाएकोदेखी नायिका केकी अधिकारी आफु अभिनित चलचित्र ‘लभ साशा’ को प्रिमियरका लागि बैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘घामपानी’ को पब्लिसिटी नै छाडेर अष्ट्रेलिया उड्नुले पनि यस्ता कुराहरुलाई थप स्पष्ट पार्छ ।
एक कलाकारले यस्तो व्यबहार देखाउँदा गाह्रो निर्माताहरुलाई मात्र होइन धेरै हदसम्म उनीहरु पनि पर्छ । चलचित्र राम्रै चले कलाकारहरु पनि फाइदा हुने हो नभएर घाटा त निर्माताहरुलाई मात्र होइन कलाकारहरुलाई पनि उतिक्कै पर्छ ।