गएको बर्ष रिलिज भएको चलचित्र ‘रामप्यारी’ पछि दर्शकहरुले नायिका रेखा थापालाई ठूलो पर्दामा देख्न पाएका छैनन् । प्रत्येक बर्ष एक चलचित्रमात्र लिएर हल छिर्ने रेखाको यस बर्षका लागि पहिलो रिलिज बन्दैछ चलचित्र ‘पलाँस’, जुन यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । सोलो रिलिजको मौका पाएको चलचित्र ‘पलाँस’ ले मल्टिप्लेक्समा पनि राम्रो शोज पाएको बताइएको छ । शुक्रबार ‘पलाँस’ बाहेक अन्य कुनै पनि चलचित्र रिलिजको तयारीमा नभएका कारण रेखालाई यसपटक मल्टिप्लेक्समा चिठ्ठा परेको हो । सिंगल हलमा राम्रो पकड जमाएकी रेखाको मल्टिप्लेक्समा भने कुनै जादु चल्दैन तर यसपटक ‘पलाँस’ ले यस्तो धमका मच्चाउने हो त्यो त रिलिजको दिन अर्थात भोलीबाट नै थाहा हुनेछ ।
केही बर्षयता आफ्नै होम प्रोडक्शनमा निर्माण हुने चलचित्रमा मात्र देखिँदै आएकी रेखाले यस बर्ष चार चलचित्रमा काम गरिन् । चलचित्र ‘पलाँस’, ‘हिरो रिटन्र्स’, ‘डायरी’ र ‘राज्जा रानी’ । यी मध्ये ‘पलाँस’ यस बर्ष रिलिज हुन लागेको हो भने बाँकी तीन चलचित्र अर्को बर्ष रिलिज हुने बताइएको छ । प्रत्येक बर्ष एक सुपरहिट चलचित्र पस्किदै आएकी रेखाले ‘पलाँस’ बाट कस्तो धुम मच्चाउने छिन्, त्यसको पनि प्रतिक्षा राम्रै भैरहेको छ ।
रेखालाई यो आरोप पनि लाग्ने गर्छ कि उनी मात्र आफ्नै ब्यानरकी हिट नायिका हुन । आफ्नो ब्यानरभन्दा बाहिरी ब्यानरका चलचित्रबाट केही बर्षयता रेखालाई फलिफाप भएको देखिन्न । यदी बाहिरी ब्यानरका चलचित्र पनि चल्ने भए रेखा अभिनित चलचित्र ‘तथास्तु’ र ‘जाउँ हिँड पोखरा’ पनि चल्नु पर्ने थियो तर यी दुवै चलचित्र फल्पको सूचीमा दर्ता भए । यस कारण पनि रेखाका लागि चलचित्र ‘पलाँस’ चल्नु पर्ने देखिन्छ । रेखालाई जसरी आफ्नै ब्यानरकी हिट नायिका भनेर चिनिने गरिन्छ त्यो सोच तोड्नका लागि पनि ‘पलाँस’ नाफाको बाटोमा हिँड्न आवश्यक छ ।
त्यस्तै, प्राय अधिकांश चलचित्रमा आफै हिरो भएर प्रस्तुत हुने रेखा यो चलचित्रमा भने विल्कुलै फरक भूमिकामा छिन् । अन्य चलचित्रहरुमा अन्याय गर्नेहरुमाथि बन्दुक र हात-खुट्टा चलाउने रेखा यो चलचित्रमा भने अन्यायलाई नजिकबाट देख्दा पनि चुपचाप छिन्, जुन सार्वजनिक ट्रेलरमा पनि देख्न सकिन्छ । चलचित्र ‘पलाँस’मा रेखा एक सोझी ‘शिक्षिका’ र ‘कल गल’ को भूमिकामा छिन् । पहिलो पटक ठूलो पर्दामा ‘कल गल’ बनेकी रेखालाई आफ्नो यो अवतार विकाउन पनि राम्रै कसरत गर्नु पर्ने देखिन्छ ।
रेखालाई सिंगल हलको बादशाह मानिन्छ किनकी उनका चलचित्रहरुले सिंगल हलहरुबाटै लगानी सुरक्षित गर्ने गर्छन । तर, रेखाको यो सायद पहिलो चलचित्र हो, जसले मल्टिप्लेक्समा पनि उच्च शोज पाएको छ । सिंगल हलकी हिरोइन भन्ने जुन छाप रेखामाथि लागेको छ त्यो छाप मेटाउनका लागि पनि ‘पलाँस’ ले मल्टिप्लेक्समा तगडै व्यापर गर्नु पर्छ । यदी यसो भए रेखाको मल्टिप्लेक्समा पनि दबदबा कायम हुनमा शंका व्यक्त गर्न सकिन्न् । तर, यसको उत्तर त ‘पलाँस’ ले नै दिनेछ ।
कृषा चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा रेखाले यस अगाडि निर्वाह नगरेको भूमिका गरेकी छिन् । रेखालाई दर्शकले चलचित्रमा ‘शिक्षिकादेखि कल गर्ल’ सम्मको भूमिकामा देख्न पाउनेछन् । यसैले पनि रेखा आफूले यो चलचित्रमा काम गरेको बताउँछिन् । चलचित्रमा अयुव केसी, कामेश्वर चौरासिया लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।