यस बर्षको भदौमा रिलिज भएको सफल चलचित्र ‘वीर विक्रम’ को सिक्वेल निर्माण हुने भएको छ । युटुबमा सार्वजनिक गरेको २ हप्तामा २३ लाख बढी भ्यूअर्स पाइसकेको चलचित्र ‘वीर विक्रम’ को पार्ट २ बन्ने कुराको पृष्टि निर्देशक एवं निर्माता मिलन चाम्सले फेसबुकमार्फत गरेका छन् । निर्देशक चाम्सले सिनेमा हल र युटुबमा दर्शकहरुले दिएको माया र साथका कारण ‘वीर विक्रम २’ निर्माण गर्न लागेको बताए ।
२०१७ को लास्टतिर फ्लोरमा जाने तयारी भइरहेको यो चलचित्रका लागि नायिका प्रियंका कार्की भने फाइनल भइसकेकी छिन् । यसअघि प्रियंकाले निर्देशक चाम्सको निर्देशनमा बनेको चलचित्र ‘ह्याप्पी डेज’ मा काम गरिसकेकी छिन्, जुन रिलिजको तयारीमा छ । खबरका अनुसार, चलचित्र ‘वीर विक्रम २’ मा पहिलो पार्टका करिब ७० प्रतिशत कलाकारहरु दोहोरिनेछन् । चलचित्र ‘वीर विक्रम’ को घोषणासँगै मिलन चाम्सले पाँख लाखमा स्क्रिप्ट राइटर यम थापालाई अनुबन्ध गरेका छन् । चलचित्रमा यम थापाको कथा रहनेछ । ‘वीर विक्रम’ को कथा पनि यम आफैले लेखेका थिए । ‘वीर विक्रम २’ मा दयाहाङ राई हुने वा नहुने भन्ने विषयमा भने निर्देशक चाम्सले कुनै जानकारी दिएका छैनन् तर दयाहाङले ‘वीर विक्रम २’ गर्ने संभावना भने बढी देखिन्छ । यसअघि ‘वीर विक्रम’ मा दयाहाङ राई, दीया पुन, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन लगायतका कलाकारहरुको मुख्य भूमिका थियो ।