यस बर्षको सफल चलचित्र ‘गाजलु’ प्रोडुसर रोहित अधिकारीले दोस्रो चलचित्र निर्माण गर्ने भएका छन् । ‘गाजलु’ निर्देशक हेमराज विसीले निर्देशन गर्ने गरि निर्माता अधिकारीले चलचित्र ‘ब्रेकअप’ निर्माण गर्न लागेका हुन । दोस्रो पटक लभस्टोरी चलचित्र निर्माण गर्न लागेका रोहितले निर्माण अगावै ‘ब्रेकअप’ को रिलिज घोषणा पनि गरेका छन् । उनका अनुसार, चलचित्र ‘ब्रेकअप’ अर्को बर्षको फागुन २ गतेबाट हलमा लाग्नेछ । निर्माण कम्पनी रोहित अधिकारी फिल्मसले चलचित्रमा को-को कलाकार हुनेछन् त्यो भने सार्वजनिक गरेको छैन । अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठलाई मुख्य भूमिकामा लिएर ‘गाजलु’ निर्माण गरेका रोहितले चलचित्र ‘ब्रेकअप’ मा पनि स्टार कलाकार नै खोज्ने संभावना बढी देखिन्छ । चलचित्र निर्माणमा गोजीको पैसा राम्रै खर्च गर्ने निर्माताको रुपमा चिनिने रोहितले ‘ब्रेकअप’ का लागि निर्देशक हेमराज विसीलाई २५ लाख पारिश्रमिकमा अनुबन्ध गरेका हुन । चलचित्रको कथा पनि हेमराज आफैको रहनेछ । अनमोल केसीलाई लिएर ‘होस्टेल’, ‘जेरी’ र गएको बर्ष ‘गाजलु’ चलचित्र निर्देशन गरेका हेमराज विसी अहिले ‘ग्याङस्टार ब्लुज’ को काममा व्यस्त छन् ।
चलचित्रलाई रोहित अधिकारी फिल्मस्को तर्फबाट ह्याप्पी प्लानेट फिल्मस्सँगको सहकार्यमा निर्माण गरिनेछ ।