अर्को बर्षका लागि ठूला ब्यानर र प्रतिक्षित मानिएका नेपाली चलचित्रहरुले आफ्नो रिलिज डेट लगालग लक गरिरहेका छन् । अनमोल केसीको ‘कृ’ देखी दीपक-दीपकाको ‘छक्का पन्जा फेरी’ सम्मले अर्को बर्षका लागि रिलिज डेट फाइनल गरिसकेको अवस्थामा ‘ड्रिम्स’ र ‘स्टूपिड मन’ निर्देशक दिवाकर भट्टराई निर्देशत चलचित्र ‘ऐश्वर्य’ को पनि रिलिज डेट घोषणा गरिएको छ । रमेश उप्रेतीको निर्माण र अभिनय रहेको चलचित्र ऐश्वर्यको रिलिज अर्को बर्षको कार्तिक १ गते अर्थात कुकुर तिहारको दिनलाई तय गरिएको निर्माण कम्पनी वैष्णोदेवी फिल्मले जानकारी दिएको छ । कार्तिक ४ गते भाईटिका परेका कारण चलचित्र ‘ऐश्वर्य’ ले कार्तिक १ गतेबाट प्रदर्शन आरम्भ गर्न लागेको हो । यसअघि यो चलचित्र दशैंमा रिलिज हुने कुरा थियो तर उक्त मितिमा ‘छक्का पन्जा फेरी’ रिलिज हुने पक्का भएपछि सहमतीमै चलचित्र ‘ऐश्वर्य’ लाई कार्तिक १ गते रिलिज गर्न लागिएको निर्देशक भट्टराईले जानकारी दिए । यो चलचित्रमा नायक रमेश उप्रेतीले दुई नायिकासँग रोमान्स गरेका छन् । नेपाली चलचित्रका लागि नयाँ अनुहार दीपिका प्रसार्इं र अहिलेकी व्यस्त नायिका केकी अधिकारीसँग यो चलचित्रमा रमेश उप्रेतीले स्क्रिन शेयर गरेका छन् । निर्देशक भट्टाराई आफैको कथा रहेको चलचित्र ‘ऐश्वर्य’ मा नव- नायिका दीपिकाले सुपर मोडलका रूपमा अभिनय गरेकी छन् । यस चलचित्रको निर्मातामा रमेश उप्रेतीसँगै अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि छन् । प्रशान्त ताम्रकारको पनि मुख्य भूमिका रहेको यो चलचित्रमा राजेश श्रेष्ठको छायांकन र अर्जुन पोखरेलको संगीत छ ।