चैत ११ गते एक्सन नायक निखिल उप्रेती अभिनित चलचित्र ‘निर्भय’ सँग एकसाथ प्रदर्शन आरम्भ गरेको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ गएको शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । माउथ पब्लिसिटीका कारण दोस्रो हप्तामा पनि ‘लप्पन छप्पन’ ले दर्शकहरुको राम्रो साथ पाएको चलचित्रका निर्देशक मुकुन्द भट्टले जानकारी दिए । उनका अनुसार, दोस्रो हप्तामा पनि यो चलचित्र देशभरका करिब ६० बढी हलमा एकसाथ प्रदर्शन भइरहेको छ । प्रदर्शनको चार दिनमा १ करोड ६४ लाखको विजनेश गरेको यो चलचित्रले हालसम्म ३ करोडको आसपासमा पैसा बटुलिसकेको छ । अब यो हप्ता दर्शकहरुको राम्रो साथ पाए ‘लप्पन छप्पन’ ले नेपालबाटै आफ्नो लगानी सुरक्षित गर्नेछ । र, बन्ने छ यस बर्षको हिट चलचित्र ।
मुकुन्द भट्ट निर्देशित चलचित्रमा अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंश शाह र सिड खरेल लगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई डम्बर चन्द र इन्द्र खरेलले मिलेर बनाएका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्वन्द रहेको छ ।