नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गतेबाट दर्शकमाझ आउँदै गरेको चलचित्र ‘लभ लभ लभ’ ले झण्डै एक महिना अघि घोषणा गरिएको ‘आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस’ कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । ‘लभस्टोरी’ पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट घोषित भएकी छिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले घोषणा गरिए बमोजिमको एक लाख पुरस्कार एलिशाको हातमा थमाइन् । कार्यक्रममा निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का पनि सहभागी थिए । प्रेमकथा बोल्ने ‘लभ लभ लभ’ ले यो कन्टेस्टमा सहभागी हुन चाहने जो कोहिले पनि आफ्नो जीवनमा आईपरेका प्रेमकथा, प्रेमको सुरुवातदेखि प्रेम प्राप्तीको लागी गरेका संघर्ष र त्यागसम्मको कुरा जोड्दै आफ्नै शब्दमा ‘प्रेमकथा’ माग गरेको थियो । सोही अनुरुप एलिशा महर्जनले लेखेको प्रेमकथा उत्कष्ट ठहरिएको हो । कथा छनोट गरेका निर्देशक खनालले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा ‘गुदी’ भेटेको तर्क गरे । ‘चलचित्र बन्ने नै खालको कसैको पनि पाईएन्, खनालले भने, ‘एलिशा जी ले पठाएको कथाको क्लाईमेक्स म स्वयंमले लेखेको ‘लभ लभ लभ’ सँग मेल खाने जस्तो पाएँ, अन्यको तुलनामा संभावना बोकेका लाईनहरु उहाँको कथामा छ ।’ त्यस्तै, विजयी भएको कुरालाई अहिले सम्मकै ठुलो सरप्राइज भन्दै नर्भस देखिएकी एलिशाले आफुले पाएको पुरस्कार धनराशी पढाईमा लगानी गर्ने बताईन् । गत हप्ता सम्पन्न एक सौन्दर्य प्रतियोगितामा भाग लिएर ‘वेष्ट फिगर’ तर्फ विजेता बनेकी एलिशा होटल म्यानेजमेन्ट तर्फ स्नातक तहकी विधार्थी हुन् । चलचित्र ‘लभ लभ लभ’ को तर्फबाट यो प्रकारका आधा दर्जनजति पुरस्कार योजना सहितका कार्यक्रम सम्पन्न भईसकेका छन् । ‘लभ लभ लभ’ मा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । निरज कंडेलले खिचेको चलचित्रका प्रस्तुतकर्ता अमृत पाण्डे हुन् ।