सायद यो नेपालमा पहिलो पटक हुँदैछ, कुनै प्रेमजोडीको वास्तविक कथामाथी चलचित्र निर्माण । निर्देशक मिलन चाम्सले नर्वेमा बस्दै आएका एक जोडीको वास्तविक प्रेमकथालाई पर्दामा उतार्ने प्रयास गरेका छन् । ‘बोवी’ नाम राखिएको चलचित्रको सोमबार राजधानीमा निर्माण घोषणा गरियो । नर्वेमा बस्दै आएका इन्जिनियर उमेश थापा र उनकी धर्मपत्नी कविता गुरुङको वास्तविक कथामा निर्माण हुने ‘बोवी’ मा यही जोडीको मुख्य भूमिका रहनेछ । ‘वास्तविक कथा नै उमेश र कविताको भएका कारण हामीले ‘बोवी’ मा रियल जोडीलाई नै पर्दामा देखाउन लागेका हौं’, निर्देशक चाम्सले भने, ‘उमेश र कविताको वास्तविक कथा सुन्दा म नै धेरै पटक रोएको छु ।’
उनले अगाडी थपे, ‘मैले यूरोपमा कविताको वास्तविक कथा सुनें । निकै मन पर्यो, अनि मैले सोचें कि यही कथामाथी चलचित्र बनाउँछु । त्यसपछि मैले चलचित्रमा कसलाई लिड रोलमा खेलाउने भनेर सोच्दा विभिन्न नायक नायिकाहरुको तश्वीर आँखा अगाडी आयो तर उमेश र कविताको रियल स्टोरी भएका कारण किन उनीहरुलाई मुख्य भूमिकामा नखेलाउने भन्ने सोचें र मैले कवितालाई यस विषयमा भने । तर, कविताले आफ्नो रियल स्टोरीमा आफै खेल्न भने मानिन् तर बल्ल-बल्ल मनाएँ ।’
प्राप्त खबरका अनुसार, चलचित्रमा उमेश र कवितासँगै पाइलट विजय लामाको पनि मुख्य भूमिका रहनेछ । चलचित्रले धनाड्य परिवारकी छोरी कविता एक्कै चोटी गरिव परिवारका उमेशसँग विवाह हुँदा आउने विभिन्न समस्याहरुलाई उठाउनेछ । जुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।चलचित्रको विषयमा बोल्दै कविताले भनिन्, ‘मलाई लाग्छ हाम्रो प्रेमकथा अरुको भन्दा सायद केही फरक छ । जुन चलचित्र बोवी बनेपछि सबैले हेर्न पाइहाल्नुहुन्छ । मलाई लाग्छ हाम्रो रियल स्टोरी जस्तो थियो त्यस्तै पर्दामा पनि दर्शकहरुले देख्न पाउनुहुनेछ ।’
त्यस्तै, कविताका श्रीमान तथा चलचित्रका नायक उमेशले भने -‘कविता र मेरो प्रेमकथा निकै अनौठो पनि छ र निकै यूनिक पनि छ । सायद पर्दामा ‘बोवी’ आएपछि दर्शकहरुले पनि मन पराउनुहुन्छ ।’
चलचित्रको स्क्रिप्ट अहिले सञ्चारकर्मी नरेश भट्टराइले लेखिरहेका छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन रहने छ । १२ दिन नर्वेमा छायांकन हुने यो चलचित्रको पोखरा, काठमाडौं लगायतका स्थानहरुमा पनि हुनेछ ।
तपाईहरुलाई बताइदिउँ कि उमेशले कवितालाई रियल लाइफमै ‘बोवी’ भनेर बनाउने भएकाले चलचित्रको नाम नै बोवी राखिएको हो ।त्यस्तै, चलचित्र ‘बोवी’ लाई शुभकामना दिँदै चलचित्र पत्रकार संघका, नेपालका अध्यक्ष सन्दिप सापकोटाले निर्देशक मिलन चाम्स मौलिक कथावस्तुमा चलचित्र निर्माण र निर्देशन गर्न माहिर भएका कारण ‘बोवी’ पनि उत्कृष्ट चलचित्र बन्ने विश्वास व्यक्त गरे । चलचित्रलाई वितरक तथा नायक गोविन्द शाहीले पनि शुभकामना दिएका थिए ।
तश्वीर : कमल प्रसाई