गएको बर्ष रिलिज भएको म्यूजिकल लभस्टोरी चलचित्र ‘प्रेम गीत’ को सिक्वेलको पहिलो रोमान्टिक शिर्ष गीत रिलिज भएको छ । साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘प्रेम गीत २’ को ‘कहानी यो प्रेम गीतको’ बोलको गीतको भिडियोमा ‘प्रेमगीत’ नायक प्रदीप खड्काले नव-नायिका अश्लेषा ठकुरीसँग रोमान्स गरेका छन् । रोहितजोन क्षेत्री र श्रेया सोताङको स्वर रहेको गीतमा अमृत मरहठ्ठाको शब्द र कल्याण सिंहको संगीत रहेको छ । थाइल्यान्ड लगायतका स्थानहरुमा खिचिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । अझ प्रदीप र अश्लेषाको केमेष्ट्री त झन गज्जबको देखिन्छ । तपाईहरुलाई बताइदिउँ कि, यसअघि चलचित्र ‘प्रेमगीत’ मा प्रदीप खड्काले नायिका पूजा शर्मासँग रोमान्स गरेका थिए ।
म्यानमार र नेपालबीचको कन्टेन्टमा बुनिएको कथालाई निर्देशक रामशरण पाठकले लेखेका हुन् । सवा दुई करोड बजेटको यो प्रोजेक्ट नेपालको काठमाडौं, पोखरा, लुम्बिनी र रारामा समेत सुट गरिएको छ । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा रेनिशा बान्तवा राईको कोरियोग्राफी छ ।
नेपाल, म्यानमार र म्यानमारको अन्तरदेशिय प्रेमकथा समावेश गरिएको यो चलचित्रको क्लाईमेक्स सीन खिच्नका लागि अहिले नायक प्रदीप खड्काले दुई महिनासम्म मुयाथाई भनिने थाइल्यान्डको किक बक्सिङ सिकिरहेका छन् । अहिले प्रदीप यसैका लागि दशरथ रंगशालाको कभर्ड हलमा व्यायाम कार्यशालामा किक बक्सिङ सिकिरहेका छन् । दुईमहिना सुटिङ पोस्टपोन्ड भएपनि बाँकी खिच्नुपर्ने अवधि भने एकसाता मात्र छ ।