यस बर्षको बल्कबस्टर चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल निर्माण हुने कुराले यति बेला नेपाली सिनेवृत राम्रै तातेको छ । बैशाखको दोस्रो साताबाट फ्लोरमा जान लागेको ‘छक्का पन्जा फेरी’ ले निर्माण अगावै आफ्नो लगानी भने सुरक्षित गरेको छ । सोमबार हाइलाईटस नेपालले एक करोडमा ग्लोबल राईट्स खरिद गरेपछि ‘छक्का पन्जा फेरी’ को लगानी सुरक्षित भएको हो । हाईलाइटस नेपाल र फिल्म निर्माण कम्पनी आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लि.बीच मंगलबार सम्झौता भएको छ ।
यतिको मूल्यमा ग्लोबल राईट्स अहिलेसम्म कुनै पनि नेपाली चलचित्र विक्रि भएको थिएन् । यसअघि हाइलाईटस नेपालले नै अनमोल केसी अभिनित चलचित्र ‘कृ’ लाई ८० लाखमा ग्लोबल राईट्स खरिद गरेको थियो । यस बर्ष १६ करोड ग्रस कलेक्शन गरेको ‘छक्का पन्जा’ को व्यापारिक रेकर्ड र कलाकारलाई हेरेर हाइलाईटस नेपालले एक करोडमा ग्लोबल राईट्स खरिद गरेको खबर छ । तपाईहरुलाई बताइदिउँ कि यसअघि ‘छक्का पन्जा’ को ग्लोबल राईट्स लिँदा हाइलाईटस नेपालले ठूलो घाटा बेहोर्नु परेको थियो । चलचित्र ‘छक्का पन्जा’ पाइरेसी हुँदा हाइलाईटस नेपालले जिम्मा लिएको विदेश प्रदर्शन चौपट भएको थियो ।
दीपाश्री निरौलाले नै निर्देशन गर्ने ‘छक्का पन्जा फेरी’ मा दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । अहिले दीपा र दीपक चलचित्रका लागि एक नायक र एक नायिका भने खोजिरहेका छन् ।