हास्यटेलिश्रृखला भद्रगोलका दुई मुख्य पात्र अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले सप्तरीको गम्हरीया प्रवाहामा तीन दृष्टिविहीन परिवारका लागि घर निर्माण गर्ने भएका छन् । जिग्री पाँडे प्रतिष्ठानबाट उनीहरुले अतिबिपन्न तीन दृष्टिबिहिन परिवारका १७ सदस्यका लागि घर निर्माण सुरु गरेका हुन् । गएको शनिबार घरको शिलान्यास गरिएको छ । घरको शिलान्यास हाँस्य कलाकारद्धय धुर्मस–सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे) ले गरेका हुन् । शिलान्यास गर्दै सिताराम कट्टेलले जिग्री पाँडे प्रतिष्ठानबाट राम्रो कार्यको सुरुवात भएको र सामाजिक कार्यमा आउने दुःखहरुबाट हरेश नखाई निरन्तर अघि बढ्न सल्लाह दिएका थिए ।
उनले भने, ‘काम गर्न निकै चुनौतिपुर्ण छ । धेरै बाधाअर्चन खेपनुपर्छ । यी कुराहरुलाई मनन् गर्दै काममा अघि बढ्नु । काम गर्दै जाँदा भोली कसैले पनि प्रश्न उठाउने वातावरण सिर्जना नगर्नु । किनकी मैले तीन/तीन वाट वस्ती निर्माण गर्दा भोगेको छ ।’त्यहाँको परिस्थिती बारे जिग्री पाँडेले बिगत केही महिना अघि कान्तिपुर राष्ट्रिय दैनिकमा समाचार पढेपछि आफुहरुलाई सहयोग गर्ने इच्छा भएको राजविराज पुगेका ‘जिग्रि पाँडे प्रतिष्ठान’ का कोषाध्यक्ष अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए । उनले भने, ‘हामी दृष्टिबिहिन परिवारका लागी लत्ताकपडाहरु सहयोग गरौं भनेर यहाँ आएका थियौं तर, यहाँ आईसकेपछि उहाँहरुलाई आवासको पनि समस्या रहेछ त्यो देखेपछि हामीले घर बनाईदिने योजना गरेका हौ“ ।’
करिब ३० लाख लगानीमा बन्न लागेको ३ घरका लागि देश तथा विदेशबाट अहिलेसम्म करिब १५ लाख सहयोग जम्मा भइसकेको र अझै करिब १५ लाख सहयोग जुट्न बाँकी रहेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिनका लागी प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल (जिग्री)ले अनुरोध गरेका छन् । उनीहरुले १५ लाखमा तीन घर निर्माण गर्ने र बाँकी १५ लाखले उनीहरुको स्वस्थ्य उपचार तथा शिक्षामा खर्च गर्ने बताएका छन् । यो अभियानमा जिग्री पाँडे प्रतिष्ठान नेपालसँगै सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेश प्रसाद शाहपनि सँगै सहयोगमा जुटेका छन् ।